प्रहरी हुँ भन्दै लुट्ने आफै प्रहरी खोरमा पुगे


सुर्य बराल
चितवन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटपाट गर्दै हिड्ने  दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ विशाल चोकमा सोही स्थानका नारायण धिताललाई हामीहरु प्रहरी हो भन्दै जाँच गर्ने नाममा नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ । धिताल काठमाडौँबाट घर फर्कदै गर्दा बाटोमा उनीहरुले लुटेको प्रहरीले जनाएको छ । उनीहरुले नारायणगढका केही होटलमा पनि धम्काउने काम गरेको प्रहरीले जनाएको छ ।