बाटो निर्माण नहुँदा स्थानीयवासीलाई समस्या

खोलेसिमल, चितवन, ६ फागुन ।
कालिका नगरपालिका वडा नं. ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको गुराउचौरदेखि बेलचोकसम्मको ३ सय मिटर बाटो भने कालोपत्रे हुन सकेको छैन ।
बेलचोकबाट पनि जुटपानी बजार तर्फको बाटो कालोपत्रे भईसकेको र बिचको खण्ड निर्माण नहुँदा गाउँलेलाई समस्या भएको स्थानीय ऋषिराम घिमिरेले बताए । ४ वर्ष अगाडि बाटो कालोपत्रे गर्न ग्रेडिङ्ग गरेर ग्रावेल समेत गरेपछि ठेकेदार देखा समेत परेनन् । ठेकेदारले काम नगरे पछि सडक डिभिजन कार्यालय भरतपुरमा सडक निर्माणको सन्दर्भमा जानकारी लिन गएको शहीद स्मृति वैकल्पिक राजमार्ग उपभोक्ता समिति जुटपानी खण्डका तत्कालिन अध्यक्ष युवराज खतिवडाले बताए । कार्यालयले ठेकेदार काम नगरी भागेकोले उसलाई कालोसूचीमा राखिएको जानकारी पाएको उनले बताए । पुनः बाटोको काम हुन्छ भनेर कार्यालयले भनेपनि ४ वर्ष भयो, हामीहरु हिउँदमा धुलो र वर्षायाममा हिलो खान बाध्य छौं, उनले भने ।
बाटो कालोपत्रे गर्नको लागि टोल विकास समिति मार्फत् कालिका नगरपालिका वडा नं. ६ को कार्यालयमा अनुरोध सहित पत्र पठाइएको उनले बताए । सो खण्डको ३ सय मिटर बाटो कालोपत्रे गर्ने सम्बन्धमा निवेदन प्राप्त भएको भन्दै कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मीले सडक डिभिजन कार्यालयसँग समन्वय गरी काम गर्ने पक्षमा आफु रहेको बताए । स्थानीय जनप्रतिनिधि नभएको समयमा ठेकेदारले काम पूरा नगरी गएको सन्दर्भमा कार्यालयमा यथार्थ बुझ्ने समेत अध्यक्ष रेग्मीले बताए ।