अल मार्सल आर्ट एकेडेमीको खेलाडीलाई सम्मान

चितवन, ६ फागुन
चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगिता तथा अन्य राष्ट्रिय प्रतियोगितामा विजेता बनेका चितवनका खेलाडीहरुलाई अल मार्सल आर्ट एकेडेमीले सम्मान गरेको छ । भरतपुरको क्षेत्रपुरमा रहेको एकेडेमीले मुवाँथाई तर्फ ७५ किलो तौल समूहमा विजेता बनेका दिवसलाल भूमि सहित १० जना खेलाडीलाई शनिबार सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै, समाचार मार्फत खेलकुदको क्षेत्रमा सहयोग पु¥याएको भन्दै चितवनका खेलकुद पत्रकार आनन्द पोखरेललाई समेत नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा अल मार्सल आर्ट एकेडेमीका सल्लाहकार ईश्वर सापकोटाले अन्य क्षेत्रभन्दा खेल क्षेत्र विशिष्ठ भएको बताए । खेल क्षेत्रमा पछिल्लो समय राजनीति मिसिएकोले खेलकुद जस्तो स्वतन्त्र क्षेत्रमा राजनीति गर्न नहुने सापकोटाले बताए । खेल क्षेत्रमा कौशलताका साथ गुणात्मकता प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै सापकोटाले कला र दक्षताले मात्रै जित हालिस गर्न सकिने बताए । कार्यक्रममा कराते प्रशिक्षक टार्जन श्रेष्ठले खेलाडीहरुले स्वर्ण पदकको लक्ष्य सहित प्रतिस्पर्धामा सहभागी भएमा मात्रै सफलता पाउने बताए । खेलाडीहरु राष्ट्रका गहना भएकाले उनीहरु अनुशासित भएर खेल्नुपर्नेमा श्रेष्ठले जोड दिए । अल मार्सल आर्ट एकेडेमी भरतपुरका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुवाँथाई चितवनका अध्यक्ष दिलिप पौडेल, अल मार्सल आर्ट एकेडेमीका सचिव सुजन लामालगायतले मन्तव्य राखेका थिए ।