केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । एमाले स्थायी कमिटिको बैठक ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बसेको थियो । सो बैठकले प्रधानमन्त्रीका लागि ओलीलाई बैठकको शुरुमै प्रस्ताव गरेको थियो, बैठकमा औपचारिक निर्णय गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि दुई नेताबीच भएका गृहकार्यका बारेमा नेताहरुलाई व्रिफिङ गरेका थिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाएपछि एमालेले माओेवादीसँग मिलेर सरकार गठन गर्ने तयारी स्वरुप ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।