राज्यले शैक्षिक तथा विकास निर्माणको जिम्मा लिनुपर्छ – सांसद पोख्रेल

रिजाल परिवार तथा हमाल परिवारबाट १०÷१० लाख रुपैया सहयोग

पदमपुर, चितवन
प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेलले राज्यले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विकास निर्माणहरुको जिम्मेवारी लिनुपर्ने बताएका छन् । चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा विद्यालयको स्तरोन्नती एवम् मन्दिर निर्माण तथा जीर्णोद्वार गर्ने उद्देश्यले संचालित धनधान्याञ्चल महायज्ञ कार्यक्रममा बोल्दै का प्रमुख अतिथि पोख्रेलले यस्तो बताएका हुन् ।
उनले थपे अब बन्ने सरकारले यी सबै खालका विकास निर्माणमा लागिपर्ने छ, साथै आफुले पनि आफ्नो क्षेत्रमा स्थानीयसँग समन्वय गरी काम गर्ने नेता पोख्रेलले प्रतिबद्धता व्यक्त गरे । नेपालको संविधानले शिक्षा र सामाजिक विकासको सरकारले जिम्मेवारी लिनुपर्ने उल्लेख भएको बताउँदै सांसद पोख्रेलले यस क्षेत्रको हरेक शैक्षिक संस्था र सामाजिक विकासको लागि आफु प्रतिबद्ध भएर लाग्ने समेत बताए । स्थानीयहरुको सहभागीतामा भएको धनधान्याञ्चलको सफलताको कामना गर्दै सामाजिक कार्यको लागि रकम संकलन भएकोमा खुशी व्यक्त गरे ।
सोही कार्यक्रममा प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का सांसद घनश्याम दाहालले सरकारले गर्नुपर्ने काम स्थानीयले गर्न लागेको भन्दै प्रदेश सरकारले शिक्षा लगायतका क्षेत्रमा काम गर्ने र आफु पनि प्रतिबद्ध भएर काम गर्ने समेत बताए । स्थानीयले बिहान बेलुकाको गाँस काटेर उठाएको रकमले सबै विकास निर्माण पूरा हुन नसक्ने भन्दै आफ्नो क्षेत्रबाट विकासको लागि सक्दो पहल गर्ने उनले बताए ।
यसैविच, सोही  धनधान्याञ्चल महायज्ञमा स्थानीय रिजाल तथा हमाल परिवारले १०÷१० लाख रुपैया सहयोग गरेका छन् ।
स्थानीय केशव रिजालले आफ्नो स्वर्गीय बुबा टिकाराम तथा स्वर्गीय माता डिकुरा रिजालको सम्झनामा एवम् नातीहरु टिकाराज, देवी प्रसाद र प्रकाश रिजाल परिवारले हजुरबुबाको सम्झनामा संयुक्त रुपमा सो रकम सहयोग गरेका हुन् । गत शुक्रबार आयोजित धनधान्याञ्चल महायज्ञको तेश्रो दिन स्थानीय पूर्ण हमालले आफ्नो स्वर्गीय बुबा उदय बहादुर हमाल र स्वर्गीय आमा पदम कुमारी हमालको सम्झना गर्दै तथा नातीहरु धन बहादुर, मन बहादुर, राम बहादुर र रेशम बहादुर हमालले दश लाख रुपैया सहयोग गरेका हुन् । दुवै परिवारले १० लाख १ हजार १ सय ११ रुपैयाको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।
वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्न सो आध्यात्मरामायण धनधान्याञ्चल नवाह भक्ति ज्ञान महायज्ञ गर्न लागिएको हो ।
मूल समारोह समितिका संयोजक केशब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजाल, सचिवालय सदस्य दिवस पाण्डे प्रचार प्रसार समितिका संयोजक पूर्ण प्रसाद कडुवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञमा तेश्रो दिनसम्म २७ लाख रुपैया भन्दा बढी रकम संकलन भईसकेको आयोजकले जनाएका छन् । सो कार्यक्रम आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञबाट करीब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । संकलित रकमबाट स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नुका साथै ज्योतीविन्दु मुक्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वार समेत गरिने आयोजकले बताएका छन् ।