जनजीवन माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

चितवन, माघ २५ । दक्षिण चितवनको माडीमा रहेको जनजीवन माध्यमिक विद्यालयले आउँदो शनिबारदेखी मंगलबार सम्म बिबिध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउने भएको छ । जनजीवन माध्यमिक विद्यालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको अवसरमा विभिन्न साँस्कृती कार्यक्रम , सय जना पूर्व शिक्षकहरुलाई सम्मान , दाताहरु सम्मान एवं समग्र माडीको शैक्षिक गुणस्तर वृद्धिमा सरोकारवाला निकायको ध्यानाकर्षण गरिने विद्यालय का अध्यक्ष श्याम पौडेलले जानकारी दिए । विभिन्न सरकारी तथा गैर सरकारी निकाय, अभिभावक र संघसंस्थाहरुबाट खर्च रकम संकलन गरिएको रकमको सहि सदुपयोग गर्ने बताउदै अध्यक्ष पौडेलले विद्यालयले स्वर्ण महोत्सव पछि कक्षा १ देखि ५ कक्षा सम्म पूर्ण रुपमा अंग्रेजी माध्यममा अध्यापन शुरु गर्ने तयारी गरिरहेको बताए । साथै, उनले स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि २० लाख रुपैयाँ बढि खर्च लाग्ने साथै महोत्सव सम्पन्न गर्नका लागि १ हजार २५ सदस्यीय मुल समारोह समिति गठन गरिने जनजीवन माध्यमिक विद्यालयका अध्यक्ष पौडेलले बताए । त्यस्तै स्वर्ण स्तम्भ, स्वर्णद्धार सरस्वती मन्दिर, स्वर्ण आँगन, स्वर्ण मञ्च बनाउने दाताहरुलाइ पनि सम्मान गरिने विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमले जानकारी दिए । चार लाख रुपैयाँ भन्दा बढि चन्दा दान गर्ने व्यक्तिलाई अति विशिष्ट चन्दा दाताको रुपमा सम्मान गरिने बताउदै बिद्यालयका प्रधानाध्यापक गौतमले महोत्सवको अवसरमा १ लाख देखी २ लाख रुपैयाँ सम्मका चन्दा दाताहरुको नाम ताम्रपत्रमा उल्लेख गरिनुका साथै चाँदी को फ्रेम र दोसल्लाले सम्मान सहित ३ पुस्ते नाम अभिलेखमा लेख्ने योजना आफुहरुको रहेको बताए । यता, माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले माडी का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक विकासका आधारमा यहाँका कुनै एउटा विद्यालयलाई उत्कृष्ट विद्यालयका रुपमा घोषणा गरिने जानकारी दिदै आगामी ४ वर्ष भित्रमा माडीका सबै विद्यालयलाई नमुना विद्यालय घोषणा गरिने र त्यसको लागि सबै खर्च नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिए । सामुदायिक विद्यालयका आम्दानीको स्रोतहरु नयाँ किसिमले पहिचान गरिने भन्दै उनले माडीको ढुंगाहरुबाट माडीका बालबालिकाहरुको शैक्षिक स्थिति उकास्ने औल्याए ।
स्वर्ण महोत्सवको पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं।३ का प्रतिनिधीसभाका सासँद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माडीमा अहिले ४५ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा आएका छन् ।