भ्रष्टाचार आरोपमा भक्तमान श्रेष्ठ माथि विशेष अदालतमा अन्तिम सुनुवाई हुदैं

अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोप

 

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठ विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो । सोमबार डा. श्रेष्ठको मुद्दा न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशमा पेशी तोकिएको थियो । इजलाशले अन्तिम सुनुवाईका लागि थप फाइल मगाउने आदेश गरेको छ । क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा दावी गरिएको छ । डा श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेबारी दुरुपयोग गरी गैरकानूनी रुपमा धन आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपत्रपमा माग गरिएको छ । अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाईएको थियो । डा. श्रेष्ठ क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरी १८ वर्ष सोही स्थानमा विताएका थिए। क्यान्सर विशेषज्ञ श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए । २०६३ देखि २०६५ सालसम्म उनले १५ लाख २७ हजार रूपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा ३ वर्षको अवधिमै ५० लाख अवैध ढंगले कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको अख्तियार को आरोपत्रमा उल्लेख छ । उनले घर निर्माणमा कुल ४४ लाख ५४ हजार र जग्गामा ६५ लाख ८५ हजार खर्चेको भेटिएको अख्तियारको अख्तियारको आरोप पत्रमा उल्लेख छ । २०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि श्रेष्ठले ९४ लाख ३१ हजार गैरकानुनी आर्जन गरेको अख्तियार आरोप पत्रमा उल्लेख छ । क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा कार्यरत श्रेष्ठकी पत्नी शिलुलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरु एनपीआई सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा सेयर रहेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।