नेपाल संवत् ११४६ प्रारम्भ, मुख्य सहरमा शुभकामना र्याली,स्वागतार्थ पोखरामा भिन्तुना र्याली
काठमाडौँ/नेपाल संवत् ११४६ प्रारम्भ भएको खुसीयालीमा आज राजधानीलगायत देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ ।विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा ¥याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा आज निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । ¥यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेशभूषामा खुसी साट्दै हिँडेको देखिन्छ ।
नेपाल संवत्लाई विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साःख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरु गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले बताउनुभयो ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शङ्ख संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै कायम छ ।
यही परम्परा अनुसार मङ्गलबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खोलेका छन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाएका हुन् । विसं २०८० देखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ ।
नेपाल संवत्को स्वागतार्थ पोखरामा भिन्तुना र्याली
कास्की : पोखरामा नेपाल संवत् ११४६ को स्वागतार्थ भिन्तुना र्याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा भिन्तुना ¥याली निकालिएको हो ।
पोखरा महानगरपालिका–३ नारायणस्थान मन्दिरस्थित वीरेन्द्र स्मृति पार्कभित्र रहेको राष्ट्रिय विभूति शङ्खधर साःख्वाको प्रतिमामा माल्यार्पण गरी ¥याली निकालिएको हो । नेपालीको महानपर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखी नेपाल संवत् (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल संवत्को स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ ।
यसैको निरन्तरतास्वरुप यस वर्ष पनि ¥याली निकालिएको र झाँकीसहित विभिन्न जाति जनजातिको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो, भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए ।
आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल संवत्को अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।
¥यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले पछिल्लो क्रममा नेवार जातीले आफ्नो भाषा, संस्कृति छाड्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भाषा, संस्कृति मानिसको पहिचान हो । नेवारी भाषा बोल्न, संस्कृति मान्न र वेषभूषा लगाउन कसैले पनि हिच्किचाउनु हुन्न । संस्कार, संस्कृति, भाषा र वेषभूषा संरक्षणमा सबैको योगदान आवश्यक छ ।” नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् मौलिक र साझा संवत् भएकाले यसलाई दैनिक कामकाजमा प्रयोग गर्नुपर्नेमा बताउँदै भाषा, संस्कृति सबैले गर्वका साथ प्रयोग र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसैगरी नेवाः खल कास्कीले स्थापना गरेको पोखरा नेवा रत्न सम्मान यसवर्ष भैरव सांस्कृतिक समितिलाई प्रदान गरिएको छ । वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सङ्गीता बज्राचार्य, सुविन्द्र श्रेष्ठ र श्रीकृष्ण कतिला रहेको छनोट समितिले गरेको सिफारिसका आधारमा नेवा खल कास्कीले पहिलो पटक भैरव सांस्कृतिक संरक्षण समितिलाई नेवा रत्न सम्मान प्रदान गरेको हो ।
नेवारी संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कारको राशि नगद रु एक लाख र ताम्रपत्र छ । त्यस्तै, नेवाः खल कास्कीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्नेगरी अन्तरराष्ट्रिय नेवा रत्न सम्मान पनि घोषणा गरेको छ ।रासस