जिल्ला स्तरीय तेकवान्दोमा कृष्णपुर पहिलो

चितवन, २० माघ
भरपुरको कबर्डहलमा आयोजना गरिएको ११औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको छ । राष्ट्रिय तेकवान्दो संघ चितवनले शुक्रबारदेखि आयोजना गरेको प्रतियोगिमा १२ वटा गोल्ड मेडल जित्दै कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको हो । उक्त प्रतियोगितामा १० वटा गोल्ड मेडल सहित शिवपुरी तेकवान्दो डोजाङ भण्डारा दोस्रो भएको छ भने आठ वटा गोल्ड मेडल सहित बुद्ध तेकवान्दो डोजाङ भोजाड तेस्रो भएका छन् । वितेजा खेलाडी तथा डोजाङहरुलाई राष्ट्रिय तेकवान्दो संघका केन्द्रीय सदस्य विकास केसी तथा राष्ट्रिय तेकवान्दो संघ नवलपुरका अध्यक्ष कुसुम सुवेदीले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त प्रतियोगितामा बुद्ध तेकवान्दो डोजाङका २८ किलो तौल समूहका खेलाडी सुजल परियार उत्कृष्ट खेलाडी हुँदै ट्रफी हात पारेका छन् । प्रतियोगितामा चितवन र नवलपुर क्षेत्रका दुई सय ५० खेलाडी रहेका राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । तौल समूह र कातामा गरि प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा जिल्लाका जुनियर खेलाडीहरु सहभागी भएका थिए । सेतो, पहेँलो र हरियो पेटी तथा तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो ।