शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताएकी छन् । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् । सामुदायिक विद्यालयहरूले राष्ट्रका लागि आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको बताउँदै उनले अबको शिक्षा सीपमूलक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिएकी छन् । उनले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरू कर्तब्यनिष्ठि र इमानदार हुनु पर्नेमा समेत जोड दिदैं विद्यालयलाई ५१औं वार्षिक उत्सव मनाउन सफल भएकोमा शुभकामना ब्यक्त गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सामुदायिक विद्यालयहरूको स्तरोन्नति देशकै समस्याको रूपमा रहेको भन्दै महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको क्षमता विकास र बिस्तारमा महानगरपालिकाले विशेष पहल गर्ने बताएकी छन् । उनले अधिकांश निम्न र मध्यम वर्गीय परिवारका विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयहरूको स्तर निजी विद्यालय सरह बनाउनु पर्नेमा जोड दिएकी थिईन् । सामुदायिक विद्यालयहरूले देशका लागि चाहिने योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा विशिष्ट भूमिका खेलेको भन्दै प्रमुख दाहालले बताउनु भएको छ । ‘अबको मुख्य कार्यभार शैक्षिक गुणस्तरमा सुधार हो । त्यसका लागि तपाइँहरू योजना ल्याउनुहोस, महानगर सक्दो सहयोग गर्न तयार छ ।’ दाहालले अगाडी थपिन महानगरको ऐतिहासिक नगर परिषद भर्खरै सम्पन्न भएको प्रसंग उल्लेख गर्दै दाहालले नगर परिषदबाट पारित विकास निर्माण, निती तथा कार्यक्रमहरू महानगरबासीहरूले अनुभूति गर्ने गरी गरेर देखाउने छु ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइरालाले विद्यालयको क्षमता बिस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जना जनाएका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम र पिटी प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्व्विद्यार्थी तथा समाजसेवी झलक केसीले स्वर्गीय बुबाआमाको स्मृतिमा एक लाख रूपयाँको असहाय विद्यार्थी अक्षयकोष स्थापनाको घोषणा गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिपेस पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत सो वार्षिकोत्सव समारोहमा चन्दादाता, अक्षयकोष स्थापनाकर्ता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । सो विद्यालयमा शिशुदेखि १० कक्षासम्म जम्मा ४ सय ४१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।