सहिद दिवसमा भलिबल प्रतियोगिता

चितवन, १६ माघ
सहिद दिवसको अवसर पारेर चितवनमा जिल्ला खेलकुद विकास समितिले वृहत जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । जिल्लाका २० वटा भलिबल समूहहरु सहभागी भएको प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो । सहिद दिवसको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का सांसद मिलनबाबु श्रेष्ठले खेलकुदको लागि चितवन महत्वपूर्ण जिल्ला भएको बताउनुभयो । खेलको माध्यमबाट जिल्ला र राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण योगदान पुग्ने भएकोले प्रदेश सांसदको तर्फबाट खेलकुदको क्षेत्रको विकासको लागि सहयोग गर्न आफू हरदम तयार रहेको श्रेष्ठको भनाइ थियो । प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको खेलमा पाँच वटा समूह दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा विजयी हुने समूहले २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले १० हजार रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै सेमी फाइनलबाट बाहिरीने दुई वटा टिमलाई तीन÷तीन हजार रुपैयाँ प्रदान गरिने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताउनुभयो । प्रतियोगिताको अवसर पारेर जिल्ला खेलकुद विकास समिति चितवनले एथलेटिक्स खेलाडी भुवन महतोलाई समेत सम्मान गरेको छ । लङजम्पतर्फ नेपालभरीबाट नै जुनियर च्यम्पिएन भएका भरतपुुर २८ का भुवन महतोलाई समितिले पाँच हजार रुपैयाँसहित सम्मान गरेको थियो ।