शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको काम सुरु

चितवन, माघ­ १६–

चितवनको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भएको छ ।

काठमाडौंको इको कोड नेपाल प्रा.लि.ले डिपिआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डिपिआर प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाईएको छ । आज (मंमगलबार) स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डिपिआर प्रक्रियालाई तिव्रता दिईएको छ ।

इको कोड नेपाल प्रा.लि.का इन्जिनियर कुमार धमलाले ६ महिना भित्रमै डिपिआरको कामलाई पुरा गर्ने गरि काम अगाडि बढाईएको जानकारी दिनुभयो । उहाँले डिपिआरको काम सकिने लगत्तै इआईए पनि तत्काल सुरु गरिने बताउनुभयो । त्यसलगत्तै औद्योगिक क्षेत्रको शिलन्यास गरिनेछ ।

शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिकाको वडा नं.३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७ सय ४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले ‘एक प्रदेश, एक औद्योगिक क्षेत्र’ निर्माण गर्ने अवधारणा अनुरुप प्रदेश नं.३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । आज चितवन उद्योग संघका पदाधिकारी, वडा अध्यक्ष, डिपिआर गरिरहेको टोलीले औद्योगिक क्षेत्रको निरीक्षण समेत गरेको छ ।

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरि रहेको छ भने चितवन उद्योग संघले निर्माणको अगुवाई गरिरहेको छ । संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरु राखिने बताउनुभयो । शक्तिखोर औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा अगाडि बढाईने भएकोले उद्योग संचालनका लागि धेरै जना इच्छुक रहेको अध्यक्ष दुवाडीले बताउनुभयो । शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएपछि स्थानीय निकाय पनि हर्षित छन् । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरवको आयोजना भएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र निर्माणमा स्थानीय स्तरमा कुनै विवाद नरहेको भन्दै सहज निर्माणका लागि नगरपालिकाले सकरात्मक भुमिका खेल्ने बताउनुभयो । यस्तै औद्योगिक क्षेत्र पर्ने वडा नं.३ का अध्यक्ष टिकाराज रिजालले आफ्नै वडामा यति ठूलो औद्योगिक क्षेत्र निर्माण हुँदा गौरवको महसुस भएको बताउनुभयो । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तर तर्फ पर्दछ । यस्तै भरतपुरको बाईपास रोडबाट पदमपुर हुँदै औद्योगिक क्षेत्र पनि प्रवेश गर्न सकिनेछ ।