चितवनको भरतपुरमा ‘पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’को तयारी सुरु

चितवन, माघ १५–

चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी सुरु भएको छ ।

चितवन उद्योग संघको आयोजनामा प्रत्येक दुई–दुई वर्षमा हुँदै आईरहेको यस प्रदर्शनी यसवर्ष चैत २३ गतेदेखि २७ गतेसम्म पाँच दिन मात्रै आयोजना हुन लागेको हो । निर्माणधिन चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीलाई वृहत र प्रभावकारी बनाउन तयारी सुरु भई सकेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो ।

प्रर्दशनीलाई व्यस्थित र भव्य बनाउन विभिन्न उपसमितिहरु गठनको तयारी भईरहेको र अन्य तयारीहरु अगाडि बढाईको उहाँले जानकारी दिनुभयो । यसवर्ष प्रदर्शनीमा ७५ प्रतिशत उद्योगका स्टलहरु रहने छ भने बाँकी २५ प्रतिशत मात्रै व्यापारिक स्टलको रुपमा रहने अध्यक्ष दुवाडीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा विशेषगरि उद्योगहरुले भित्र्याएका नयाँ–नयाँ प्रविधिहरुको प्रदर्शनी रहनेछ । त्यसको अलवा यहाँका उद्योगहरुबाट उत्पादित वस्तुहरु पनि प्रदर्शनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । पाँच दिने यस प्रदर्शनीलाई अन्तराष्ट्रिय स्तरको बनाउने गरि काम अघि बढि रहेको अध्यक्ष दुवाडीले बताउनुभयो । “यस वर्षको औद्योगिक प्रदर्शनी विल्कुलै औद्योगिक प्रदर्शनी जस्तै हुनेछ, दर्शकहरुले अरु मेला महोत्सव भन्दा धेरै नै फरक पाउनु हुनेछ”–अध्यक्ष दुवाडीले भन्नुभयो । उहाँले अन्य जिल्लाहरुमा हुने औद्योगिक प्रदर्शनी भन्दा पनि चितवनको प्रदर्शनी पृथक हुने दावी गर्नुभयो ।

चितवन प्रदर्शनी केन्द्रको अत्याधुनिक हलमा प्रदर्शनी गर्न लागिएको यसवर्ष प्रदर्शनीको समय केही पर धकेलिएको संघले जनाएको छ । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीहरुलाई सहुलियत टिकटको व्यस्था गर्न लागिएको छ । प्रदर्शनीमा २ सय ५० भन्दा बढि स्टलहरु रहने छन् । चितवन उद्योग संघले पहिलो पटक २०६६ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो ।

त्यसपछि लगत्तै २०६८, ०७० र ०७२ मा प्रदर्शनी गरेको थियो । चितवन उद्योग संघ आयोजना गर्ने प्रदर्शनीहरु प्रत्येक पटक परिमार्जित हुँदै आईरहेका छन् । विगतका वर्षहरुमा एक साता बढि दिन आयोजना गरिएको प्रदर्शनी यसवर्ष पाँच दिनमा मात्रै झारिएको छ । यसवर्ष प्रदर्शनी सुरु हुनु अघिसम्म चितचवन प्रदर्शनी केन्द्रको हल पूर्ण रुपमा निर्माण सक्ने गरि काम भईरहेको छ ।