उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा सापकोटा

 

 चितवन माघ १५ ।
उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा चन्द्रप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुनुभएको छ । संघको अध्यक्षमा अन्य कसैले पनि मनोनयन दर्ता नगरेपछि आगामी दुई वर्षका लागि उहाँ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार अन्तिम नामावली प्रकाशन गरिएको थियो । अन्तिम नामावली अनुसार अध्यक्षमा कसैले पनि दावी विरोध गरेनन् । त्यस्तै , एशोसिएट सदस्यमा बुद्धिराज डल्लाकोटी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । एशोसिएट सदस्यमा डल्लाकोटी बाहेक कसैले नाम दर्ता नगराए पछि उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्विरोध भएका सापकोटा वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष र सदस्यमा निर्विरोध डल्लाकोटी सदस्य थिए । कार्यसमितिमा रहने सदस्यहरुको पनि टुंगो लागिसके पनि पदाधिकारीका लागि भागबण्डा गरेर अघि बढ्ने बुझिएको छ । पदाधिकारीमा खुलाएर कसैको पनि उम्मेदवारी नभएपनि ती सदस्यहरुलाई नै पदाधिकारी बनाइने छ । भागवण्डा अनुसार एमालेले अध्यक्ष सहित दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले ९ तथा नेकपा माओवादी केन्द्र ले ४ जना सदस्य पाएको छ । एशोसिएट सदस्य डल्लाकोटी भने स्वतन्त्ररुपमा उभिएका छन् । स्रोतका अनुसार उनी पनि एमाले निकटकै व्यवसायी हुन् । सदस्यहरुमा नेकपा एमाले निकटका शेषकुमारी सडौला ओली र अर्जुन लम्साल, नेपाली कांग्रेस निकटका कुमार खनाल, केदारनाथ बर्तौला, विक्रम खड्का, रामचन्द्र डल्लाकोटी, रामेश्वर बर्तौला, क्षेत्रबहादुर रावल, कमलादेवी श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे रहेका छन् ।त्यस्तै, माओवादी केन्द्र निकटका रामेश्वर पोखरेल, रामशरण कार्की, चिरञ्जिवी अर्याल र तुलसीदास उप्रेती सदस्यमा निर्विरोध भएका छन् । सोमबार भएको संघको आठौं वार्षिक साधारण सभा चौंथो अधिवेशनको वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले उद्घाटन गरेको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । वार्षिक साधारण सभाकै अवसरमा संघको नवनिर्मित भवनको समेत उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले बताए । स्थानीय व्यवसायी , विभिन्न दाताहरुको सहयोगमा करिब ३५ लाखको लागतमा भवन निर्माण गरिएको छ । संघमा करिब साँढे ६ सय फर्म दर्ता छन् ।