हे भगवान ¤ यो कस्तो सम्बन्ध हो ?

नवलपुरमा गत बिहीबारको कुरा हो, एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । आफ्नी श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । समाज डाकिएको थियो । नजिकैको अर्काे घरको केटा र आफ्नी स्वास्नीबीच फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । उनका दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो गर्न छरछिमेक भेला भएका थिए । छलफलमा उसकी श्रीमती त्यही केटालाई भिडाउने तथा उनीहरु दुवैलाई प्रहरीकहाँ पु¥याउनेसम्म कुरो चलेको थियो । पछि त्यहीँ कागज गरेर मिलाएछन् । ख्यालरहोस्, अर्काकी आइमाईसित सल्किएको भनिएका उक्त केटाको पनि केही महिनाअघि बिहे भइसकेको छ । उनीहरुको बीचमा के थियो, त्यो भगवान जानून । जेहोस्, बिहेपछि पनि बाहिर अरुसित शारीरिक–मानसिक सम्बन्ध गाँस्नेहरु प्रशस्तै छन् समाजमा ।
घरमा श्रीमान् हुँदाहुँदै महिलाहरु परपुरुषसित किन लाग्छन् ? यौन सन्तुष्टि नपुगेर वा अधिक यौन चाहना भएर ? घरको लोग्ने पुरानो भई नयाँ स्वाद चाख्न चाहने मानवीय स्वभावले गर्दा नै हो कि ? पतिको व्यवहार चित्त नबुझेर तथा श्रीमान्को माया नपाएर वा भनौं लोग्ने परस्त्रीसित लाग्ने गरेको कारण पनि हुन सक्छ । लोग्ने पनि रक्सी खाएर होटलकी साहुनी तथा अर्काकी आइमाईलाई समात्दै हिँडेका देखिन्छन् । बाहिर काम गर्ने श्रीमान् आफू जति वटीसित लागेपनि घरकी श्रीमतीचाहिँ चोखै हुनुपर्ने ठान्छन् ।
गैंडाकोटकै एक युवकले केही वर्षअघि भरतपुरबाट एउटी केटीसित बिहे गरेका थिए । बिहेको केही दिन नबित्दै केटी बस्ने घरका मान्छे उसकोमा आए । श्रीमान्–श्रीमती दुवै आएका थिए, नाति–नातिनी भइसकेका । श्रीमतीकै अगाडि बूढाले त्यो केटी आफ्नी पत्नी भएको बताए । उनकी श्रीमतीलेसमेत त्यो केटी आफ्नो लोग्नेको स्वास्नीजस्तै भएर बसेको सुनाइन् । महिलाले पोइसितमात्र नभएर आफ्नो छोरासित पनि त्यो केटी सुत्ने गरेको बताइन् । यसरी आफ्नो लोग्ने घरमै छोरी समानकी युवतीसित लागेको थाहा पाउँदापाउँदै ती महिला कसरी बस्न सकेकी होलिन् ¤ पतिको अर्की हुँदा पत्नीलाई पनि बाहिर स्वतन्त्रपूर्वक डुल्ने बाटो खुल्छ सायद अनि आ–आफ्नै सुर ¤ मेघौलीकी युवती भरतपुरमा उनीहरुको घरमा टेलरिङ काम गर्ने र त्यहीँ बस्ने गर्थिन् ।
भर्खर बिहे गरेर ल्याउने केटालाई केटीको चरित्र सह्य लागेन । बिहेअघि केटा आफू पनि जथाभावी सम्भोग गर्दै हिँड्थ्यो तर त्यस केटीलाई श्रीमतीको रुपमा राखिराख्न सकेन । केही समयमै छुट्टिए उनीहरु । केटी अहिले कहाँ छिन् थाहा भएन । केटाचाहिँ अब कहिल्यै कसैसित बिहे नै गर्दिनँ, बरु गाँजै खाएर बस्छु भन्दैछ । भरतपुरमा बाबु–छोरा दुवैसित सुत्ने गरेकी केटी अब एउटै घरमा बसेपछि आफ्नो बाबुसित पनि लाग्लीसम्म भन्ठान्यो केटाले । कतिपय ठाउँमा ससुरा–बुहारीबीच रासलीला भएको उसले सुनेको छ । छोरी–बुहारीकै अगाडि तौलियामात्रै बेरेर बस्ने ससुराबाहरु छ्याप्छ्याप्ती देखिन्छन् । यो सबै मानिसको सोचको कुरा हो । उक्त युवकको सोचाइलाई के भन्ने ? बिहेपछि पति–पत्नीबाहेक अरुसित पनि सम्बन्ध हुने गरेको बग्रेल्ती देखेर, आफैंले त्यस्तो भोगेर तिनछक परेको छ ऊ ।
मेरो एउटा साथी छ । उसको एउटा बच्चा पनि छ । आफ्नी श्रीमती निकै सोझी भएको बताउँछ । आफ्नी श्रीमती त्यस्तै रहोस् भन्ने चाहन्छ । तर ऊ आफूचाहिँ घरको पुरानो भयो भन्दै बाहिर अरु नै महिलासित संसर्ग गर्ने तीव्र इच्छा राख्छ । रक्सी खाँदा अझ बढी लालायित हुन्छ बाहिर गर्न ।
कस्तो विचित्रको संसार हो यो । बिहेपछि परपुरुष÷परस्त्रीसित सम्बन्ध राख्नेहरुभन्दा नराख्ने श्रीमान्–श्रीमती पो अनौठा लाग्ने भए ¤ कमसेकम यौन र प्रेमका भावना श्रीमान्–श्रीमतीबीचमात्रै जाग्ने भइदिएको भए कति उत्तम हुने थियो । त्यसो नहुँदा पवित्र दाम्पत्य बिटुलो भएर धेरै घर भताभुङ्ग भएको छ । घरमाभन्दा बाहिरबाहिरै रमाउने बाबुआमाका छोराछोरी नै बढी मात्रामा बिग्रिएका छन्, परिवारको भन्दा लागुऔषधको आफ्नै दुनियाँमा हराउने भएका छन् । कहीँ शरीर सँगै छ तर मन मिलिरहेको छैन । कोही मन मिलेपनि तन टाढा हुँदा नजिकका पराईसित सल्किएका छन् ।
केही अघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा एकजना पुरुष आफ्नी श्रीमती आफूले विदेशबाट पठाएको रकमसमेत लिएर अर्कै युवकसित भागेकी भन्दै उजुरी गर्न आएका थिए । वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरु यतैका अरु केटासित फरार भएका केस प्रहरीकोमा निकै आउने गरेको सई देवराज शर्मा बताउँछन् । पति–पत्नी एकसाथ नहुँदाको व्यथा अर्कै छ । घरमा सँगै हुँदासमेत सम्बन्ध राम्रो नहुनु वा भनौं दम्पतीमामात्रै सीमित नहुनुको चर्काे पीडामा छ समाज ।
केही दिनअघि एउटा छोटो हिन्दी फिल्म हेर्ने मौका मिलेको थियो युटुबमा । बिहे गरेको केही वर्षपछि श्रीमान्ले श्रीमतीलाई छुनै छोडेको, पत्नीलाई मायाचाहिँ गर्ने तर सेक्स बाहिरै गर्न रुचाउने गरेको र पछि श्रीमतीले पनि श्रीमानकै साथीसित सम्भोग गरेको त्यसमा देखाइएको थियो । यही समाज हेरेर बनाइएको कहानी हो । हे भगवान् ¤ के हो यो ? यति सुन्दर जीवन दियौ, अरु प्राणीभन्दा विवेकशील बनायौ तर बिहेपछि परपुरुष÷परस्त्रीसित मन नजाने किन बनाएनौ मानवलाई ?