किन मौलाउन थाल्यो चितवनमा गुण्डागर्दी ?

वेश्यावृति र जुवाखाल पनि उस्तै

चितवन÷चितवनमा गुण्डागर्दीले पुनः टाउको उठाउन सुरु गरेको छ । विगतमा गुण्डागर्दीले आक्रान्त चितवन गत केही वर्ष शान्त जस्तै रहे पनि केही समय यता जिल्लामा पुनःगुण्डागर्दी बढ्न शुरु गरेको हो । चितवन जिल्लामा यस अघि एस.पी. भएर आएका प्रहरी उपरिक्षकहरु दीपकबहादुर थापा, प्रधुम्न कार्की, सहकुल थापा र बसन्त कुुँवरको पालामा घट्दै र हट्दै गरेको गुण्डागर्दी बहालवाला एस.पी. दीपक थापाको असक्षमताको कारण नै पुनःक्रमश मौलाउन थालेको आम चर्चा हुन थालेको छ । जिल्लामा गत केही समय यता ठेकका पट्टा, होटल रेष्टुरेण्ट र दोहरी साझँहरुमा तोडफोड, कुटपिट र गुण्डागर्दीका घटना बढे पनि चितवन प्रहरीले त्यसलाई नियन्त्रण गर्न नसक्नुले प्रहरी प्रशासनको कम्जोरी सतहमै देखिएको हो । प्रहरी प्रशासनका तलदेखि माथिसम्मका केही भष्ट्र प्रहरीहरुकै कारण चितवनमा गुण्डागर्दी मौलाउन शुरु गरेको चर्चा बढिरहेको छ । गत केही महिना अगाडी चनौलीको एक पार्टी प्यालेसमा झपड भई केही युवा घाइते भएका थिए । त्यस्तै गत हप्ता चितवन भरतपुर १६ शिवघाटमा पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत डा. कौशल तिवारी लगायतलाई गुण्डाहरुको एक समुहले आक्रमण गरी घाइते बनायो । उनलाई ज्यान मार्ने उद्धेश्यले आक्रमण भएको स्वंय डा. तिवारी बताउँछन् । यता गत हप्ता नै चितवनको चुलो रेष्टुरेण्टमा गुण्डाहरुको एक समूहले आक्रमण गर्दा नारायणगढकै एक स्थानिय ब्यक्ति घाइते भए । उनको टाउकोमा चोट लागेको थियो । त्यस्तै भरतपुरमा रहेको फाल्चा रेष्टुरेण्टमा म्यानपावर सञ्चालक समेत रहेका गुण्डा राहुलसिंहको समुहले आक्रमण गर्दा रेष्टुरेण्टमा क्षति पुगेको छ । यि त गुण्डागर्दीका केही प्रतिनिधिमुलक घटना मात्र हुन् । यी घटनाहरुमा संलग्न केहीलाई चितवन प्रहरील
मुद्दा समेत चलाएको छ भने केही घटना भित्रभित्रै ढिसमिस भए । पछिल्लो समय घटेको फाल्चा घटनामा प्रहरीले गुण्डा गर्दिको नेतृत्व गरेका राहुल सिंहको गाडी चालक लगाएत केहीलाई पक्राऊ गरे पनि राहुल सिंहलाई भने पक्रिएन,बरु गुण्डालाई जोगाउन पिडित पक्षसँग सहमति होस भनि दर्ता भईसकेको मुध्धालाई समेत सनश्क्रिय राख्ने कार्य गञ्यो ।यसरी गत केहीवर्ष यता चितवन प्रहरीमा दर्ता भएका ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दाहरु केही सार्वजनिक अपराध सम्बन्धि मुद्दाहरु र गुण्डागर्दीका मुद्दाहरुले टाउको उठाउन शुरु गरेको आभास हुन्छ । गुण्डागर्दी मात्र होइन जिल्लाको पूर्वी चितवन क्षेत्रका टाँडी, पर्सा, भण्डारा, लोथर र सौराहा पश्चिम चितवनको रामपुर, चनौली, मेघौली, जगतपुर र गितानगर, नारायणगढ र भरतपुर लगायतका स्थानमा सञ्चालित कतिपय कटेज रेष्टुरेण्टहरुमा व्यापक वेश्यावृत्ति मौलाउँदै गए पनि प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ ।
भण्डाफोरलाई प्राप्त एक गोप्य श्रोतले दिएको जानकारी अनुसार जिल्लाका घण्टे लज, कटेज रेष्टुरेण्ट, दोहोरी साँझ र अवैध कारोबारीहरुसँग अहिले पनि प्रहरीले असुली धन्दालाई जारी राखेको छ । धुमुवा फेरि फेरि पठाउँछन् । प्रहरीलाई नदिई काम गर्ने पाइदैन । एक व्यवसायीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो । श्रोतका अनुसार जिल्लामा अहिले वेश्यावृत्ति मात्र होइन । जुवाखाल पनि मौलाउँदो छ । नारायणगढका केही घरहरु, गणेशस्थान, भरतपुर, टाँडी, पर्सा, भण्डारा, चनौली, गितानगर, सौराहा, जुगेडी, रामनगर, मेघौलीका केही घर तथा होटल एवं रेष्टुरेण्टहरुमा जुवाखाल सञ्चालन भईरहेपनि प्रहरी प्रशासन मुकदर्शक र तमासे बनि रहेको छ । भण्डाफोरलाई प्राप्त अर्को सूचना अनुसार भरतपुर हाइटमा रहेको थकाली भान्छा घरले पुनः जुवाखाल सञ्चालन गरिरहेको खुल्नमा आएको छ । त्यस्तै नारायणगढको होटल आगमनले वेश्यावृत्ति सञ्चालन गरिरहेको पाईएको छ । भण्डाफोरले ग्राहक बनाइ पठाएका एक व्यक्तिबाट सो  कुरा खुल्नमा आएको हो । यसरी गुण्डागर्दीका साथै वेश्यावृत्ति, जुवाखाल र अवैध धन्दाहरु बढे पनि चितवन प्रहरीले परिणामुलक कारवाही गरी त्यस्ता गैरकानुनी कार्यहरु नियन्त्रण गर्न नसक्नुले चितवन प्रहरीमा व्यवसायीक दक्षता र क्षमताको कमी हो कि नियत मै भन्ने आम आशंका बढेर गएको छ । गुण्डागर्दी, वेश्यावृत्ति र जुवातास नियन्त्रणमा चितवन प्रहरी किन चुकिरहेको छ आम चिन्ता चासो र खोजीको विषय बनेको छ ।