निर्वाचनलाई मध्ययनजर गर्दै चितवन ’हाई अलर्ट’ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा ।

 
भरतपुर, मंसिर १० । जिल्ला प्रहरी कार्यालय चितवनले आगामी मंसिर २१ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्ययनजर गर्दै ५२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील र १ सय ९ वटा मतदान केन्द्रलाई संवेदशनशील मानेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एंवम् प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकाल का अनुसार जिल्लाको शान्तिसुरक्षालाई मजबुत पार्न अहिले “नेपाल प्रहरी र शसस्त्र प्रहरीको मोबाइल टोली, स्ट्राईकिङ टोली, सिभिल टोली परिचालन गरिएको बताए । चितवनको क्षेत्र नम्बर १ र २ मा ५÷५ वटा र ३ नम्बर क्षेत्रमा ६ वटा नेपाल प्रहरीको मोबाइल टोली , र हरेक निर्वाचन क्षेत्रमा ३÷३ वटा स्ट्राइकिङ टोली खटाइएको ढकालले बताए । प्रहरीले सुरक्षालाई मजबुत पारेको जनाएपनि त्यस्को बाबजुद मतदाता र उम्मेदवारको सुरक्षामा भने, अझै थ्रेट भईरहेको छ । खैरहनी नगरपालिका २ चैनपुर नजिकैको चौरमा गत, शुक्रबार राती सवा दस बजे सिलिण्डर बम विष्फोट भएपछि सुरक्षामा चुनौती थपिएको हो । ठूलो आवाज निश्किएपछि स्थानीयबासी त्रसित बनेका थिए । विहान सो ठाउँमा टायर जलेको अवस्थामा भेटिएको छ । प्रहरीले सो विस्फोट सिलिण्डर बम भएको हुन सक्ने आशंका गरेको छ । यस्तै केहीदिन अघि चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेको घर नजिक बम फेला परेको थियो । उता, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले भने, जिल्लाभित्र रहेका १ सय ६१ मतदान केन्द्रलाई विश्लेषण गरी सुरक्षा योजना तयार पारिएको बताए  । “चितवनमा सुरक्षा चुनौती आउन नदिन हामी कटिबद्ध छौँ” । थापाले भने, सुरुमा हामीले निर्वाचन गतिबिधी विरुद्ध क्रियाकलाप गर्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) का नेता तथा कार्यकतामाथि कडा निगरानी गरेका छौँ । त्यस संगै “गुण्डागर्दी गर्ने १ सय २० वटा समूह को सूची नै तयार पारेका छौँ, छिट्टै नियन्त्रणमा आउँछ । अवैध हातहतियार लिने विरुद्ध पनि कारवाही चाल्ने योजनामा छौँ ।” लाइसेन्स प्राप्त ४४ थान हतियार प्राप्त भैसकेको जानकारी दिदै लाइसेन्स लिएर हतियार नबुझाउने को सूची विश्लेषण गरी कारवाही गर्ने योजनामा रहेको थापाले बताए ।” चितवन प्रहरीले बसपार्क क्षेत्र, चितवन भित्रिने मुख्य नाका, निकुञ्ज तथा जंगल आसपासका क्षेत्र, चोक तथा गल्ली, होटल तथा रेष्टुरेण्टमा सुरक्षा निगरानी बढाइएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र जिल्लाको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको थापाले भने, मतदानस्थलको सुरक्षाका लागि ५१ जना प्रहरी निरीक्षक, १ सय १० जना प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानको कार्यवर्गिकरण गरेर जिम्मेवारी तोकिएको छ । हामीले इच्छाकामना गाउँपालिका, माडी नगरपालिका र बजार क्षेत्रमा समेत बढी सुरक्षा सर्तकता अपनाएको छौँ । यस्तै १ हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुने गरी योजना तयारी अवस्थामा छ । “निर्वाचन सुरक्षाका लागि तय भएको ५ बुँदे कार्ययोजना अनुसार कामकारवाही अघि बढाएका छौँ । ”, प्रबक्ता ढकाल भन्छन् , हामीले  “लागुऔषध ओसारपसार तथा वेचविखनमा संलग्न १० जना पक्राउ गरेका छौँ त्यस्तै, निर्वाचन गतिविधि  बिरोधी कार्य गर्ने १६ जना पक्राउ परेका छन् ।”उनका अनुसार लागुऔषध नाइट्रोजेपाम ७ सय ३९ ट्यावलेट, फेन्सीडोल ७ सय एमएल, अन्डेक्स ३ सय एमएल, डाइजेपम १ सय १० एम्पुल, ब्रफिनर्फिन १ सय ६ एम्पुल, फेनरागन ९१ बोटल समेत बरामद भएको छ । यस्तै , २२ थान विष्फोटक पदार्थ राखिएको जिलेटिनको लोला सहित करिव ५ केजी विष्फोटक पदार्थ, चुनाव बिरोधी कागजात र दस्तावेज सहित विप्लव माओवादीका २ जना र निर्वाचन बिरोधी गतिविधी सञ्चालन गर्ने विप्लव माओवादीका १४ जना पक्राउ परेका छन् । यस्तै, घरेलु मदिरा उत्पादन तथा विक्रिवितरण गर्ने भट्टीपसलमा छापा मारी ७ सय ६५ लिटर घरेलु मदिरा, १ हजार ५ सय ७५ लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको बताए । चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बहालवाला मन्त्री विक्रम पाण्डे, शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वअर्थमन्त्री सुरेन्द्र पार्टी, जिल्ला नेतृत्व सम्हालेका कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका घनश्याम दाहाल ‘अविनाश’ लगायत चुनावी मैदानमा छन् । चितवनमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि ९५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा ।
उता, जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले चितवनमा युद्धस्तरको काम गरेकाले निर्वाचनको सम्पूर्ण तयारी निर्वाचनको दिनभन्दा धेरै नै अगाडि काम सकिएको बताए । आयोगले निर्वाचन कार्यालय भरतपुरमा ६६ प्रकारका निर्वाचन सामग्रीहरु पठाइसकेको छ । आयोगबाट प्राप्त मतपत्र, मतपेटिकालगायत ६६ प्रकारका निर्वाचन सामग्रीहरुको व्यवस्थापन भइसकेको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । निर्वाचन शिक्षा कार्यकर्ताहरु भोट हाल्ने तरिका सिकाउन आ–आफ्नो क्षेत्रमा पुगेका छन् ।
‘निर्वाचन सामग्रीको पनि व्यवस्थापन भयो, निर्वाचन शिक्षा कार्यकर्ताहरु फिल्डमा खटिएका छन् । मतदान अधिकृतहरुको पनि छिनोफानो भइसक्यो । निर्वाचनको तयारी अब पूरा भएको छ’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने, ‘नयाँ मतदाताको परिचयपत्र पनि आइसकेको छ । मतदान केन्द्रहरुमा के कति सामग्री चाहिन्छ, त्यसको अन्तिम तयारी भइरहेको छ ।’यसपटकको निर्वाचनमा स्थानीय तहकै मतपेटिकाहरु प्रयोगमा आउने निर्वाचन कार्यालय ले जनाएको छ । मतदान केन्द्रमा मतदाताको संख्या हेरेर मतपेटिका राखिने छ । अहिलेको चुनावमा चितवनमा १ हजार २२४ मतपेटिका प्रयोगमा आउने प्रमुख ढकालले जानकारी दिए । स्थानीय तहको चुनावमा चितवनमा लगभग एक हजार मतपेटिका प्रयोगमा आएका थिए । चितवनमा स्थानीय तहको चुनावभन्दा यसपटक ४१ हजार ३४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको चुनावमा ३ लाख १३ हजार २ मतदाता थिए । अहिले ३ लाख ५४ हजार ३६ मतदाता छन् । यसपटकको चुनावमा मतदाताहरुले स्थानीय तहको चुनावमा पाएका मतदाता परिचयपत्र देखाएर भोट खसाल्ने छन् । ‘नयाँ मतदाताले नयाँ मतदाता परिचयपत्र पाउँछन्, पुराना मतदाताले पाउँदैनन् । उही पुरानै परिचयपत्र देखाएर भोट खसाल्नुपर्छ’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘४१ हजार ३४ नयाँ मतदाताले आफ्नो मतदान केन्द्रमै नागरिकता देखाएर परिचयपत्र लिन सक्नेछन् ।’ मंसिर १९ र २० गते मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, निर्वाचन आयोगले शनिबारबाट चितवनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम उपलव्ध गराएको छ । चितवनमा ४४९ मतदान अधिकृत खटिनेछन् भने ४०८ जना सहायक मतदान अधिकृत रहनेछन् । ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तीन चरणमा तालिम दिइनेछ’ निर्वाचन शिक्षा तालिम समन्वयकर्ता राजेन्द्रबाबु ढकालले भने, ‘तालिमपछि गोलाप्रथाबाट मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाइनेछ ।’ जिल्ला समन्वय समितिमा, सीटीईभीटीको सभाहलमा र शैक्षिक तालिम केन्द्रमा अधिकृतहरुलाई तालिम दिने व्यवस्था मिलाइएको छ । कति छ मतदाताको संख्या चितवनमा पुरुष मतदाताको संख्या एक लाख ६९ हजार ९६७ पुगेको छ । त्यस्तै एक लाख ८४ हजार ६८ जना चितवनमा महिला मतदाता छन् । चितवनमा पुरुषभन्दा १५ हजारभन्दा बढी महिला मतदाता छन् । निर्वाचन आयोगले पठाएको विवरणअनुसार चितवन क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता छन् । क्षेत्र नम्बर २ मा एक लाख ८२ हजार १५ मतदाता छन् । क्षेत्र ३ मा एक लाख २५ हजार ८२३ मतदाता छन् । चितवन मा मतदानस्थल पुरानै कायम गरिएको छ । स्थानीय तहको चुनावको बेला चितवनमा १६१ मतदान स्थल तोकिएको थियो । अब प्रदेश र प्रतिनिधिसभा को चुनावमा पनि त्यही मतदान स्थल कायम हुने भएको छ । मतदान केन्द्र बढेर ३७६ बाट ४०८ पु¥याइएको छ । अहिलेको प्रतिनिधि तथा प्रदेशसभा को चुनावको लागि ४०८ जना मतदाता शिक्षा स्वंयम्सेवीहरु खटाइएको सूचना अधिकारी भीमप्रसाद ढकालले बताए ।