निर्वाचनले तात्दै चितवन

गाँउगाँउमा निर्वाचन प्रचारमा प्रचण्ड र पाण्डे


चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चितवनमा चुनावी माहोल ह्वातै बढेको छ । राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानमा जुटिरहेका छन् ।
चुनावी प्रचारप्रसारमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हरु पनि आ आफ्नो हैसियत अनुसार चुनावी प्रचार अभियानमा जुटिरहेका छन् ।
वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जिल्लामा चुनावी प्रचार अभियानमा दौडधुप गरीरहेका छन्  ।
प्रचारप्रसारका क्रममा उनले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गरेका थिए । उनका प्रतिष्पर्धीका रुपमा रहेका  लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा
(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे समेत चुनावी प्रचारप्रसार अभियानमा तिब्र गतिमा दौडधुप गरीरहेका छन् ।
केन्द्रीय नेताहरु उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै  नै चासो र चर्चाको विषय बनेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् भने  लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ ।
सबै पार्टीका नेताहरु र  उम्मेदवारहरु अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा दौडिरहेका छन् । आगामी मंसिर २१ गतेको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चितवनले  माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ । समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी समेत रहेका छन् । समितिमा दुई पार्टीका २५० जना रहने साथैं ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ । समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ । नेपाली काँग्रेस चितवनले आगामी मंसिर २१ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन विभिन्न सात समिति गठन गरेको छ । काँग्रेस जिल्ला सचिव उत्तम जोशीका अनुसार काँग्रेस जिल्ला उपसभापति कैलाश कोइरालको नेतृत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै पूर्वसांसद रामकृष्ण घिमिरेको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धनका समन्वय समिति, नेपाली काँग्रेस चितवनका निर्वतमान सभापति टेकप्रसाद गुरुङको संयोजकत्वमा अनुगमन तथा सुझाव समिति, जिल्ला सचिव उत्तम जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । काँग्रेस चितवनका अर्का सचिव राजीव न्यौपानेको संयोजकत्वमा भातृ संस्था एवं शुभेच्छुक संस्था परिचालन समिति, कोषाध्यक्ष शंकर कँडेलको संयोजकत्वमा आर्थिक समिति र सहसचिव सूर्य अर्यालको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरिएको छ ।