छठसम्म मुग्लिङ सडक खण्ड २४ सै घण्टा सुचारू हुने ।

नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व लाई मध्ययनजर गर्दै चितवन प्रशासनले मुग्लिङ सडक खण्डलाई चौबीसै घण्टा सुचारू गरेको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरु बिच बसेको संयुक्त रूपमा बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय समेत गरेको जनाएको छ । यात्रुबाहक गाडीको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक लाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको हो । रातीको समयमा पहिरोको जोखिम बढेपछि गत असार २५ गतेबाट बन्द हुन पुगेको उक्त सडक खण्ड मौसममा सुधार आएसँगै चाडपर्वलाई समेत मध्ययनजर गर्दै आज बुधबारदेखि रातीको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको हो । निणर्य अनुरुप बाटो खुला भइसकेको छ । यस्तै, बैठकद्वारा कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमन लाई असर नपर्ने गरी गर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, खाल्डाखुल्डी तत्काल पुर्ने,  रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ । त्यसैगरी , सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नुका साथै सडक सुरक्षा सम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णय समेत गरेको जनाएको छ । नारायणगढ(मुग्लिङ सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तीन वर्षअघि को तथ्यांक अनुसार दशैँको बेला यो सडक हुँदै दैनिक १० हजार ६९१ वटासम्म सवारीसाधन आवतजावत गर्नुका साथै ३० लाख यात्रुले जिल्ला छाड्दै आएको जनाएको छ । मुग्लिङबाट आउने गडीलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढ तर्फबाट जाने गाडी लाई दासढुंगामा बेलुका ६ देखि बिहान ४ बजे सम्म रोकिँदै आएकोमा अब २४ सै घण्टा राजमार्ग सुचारू हुने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो । आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको काम अहिले सम्मकै सुस्त छ ।