नारायणगढ–मुग्लिन सडक खण्ड निर्वाध संचालनमा

चितवन, असार १२–

सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड सोमबारबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ ।

वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । सो सडकमा हिजो दिउँसो ३ बजे खसेको पहिरो साँझ ७ बजे पन्छाएपछि दुई दिनयता भएको सवारी जाममा कमी आएको प्रहरीले जनाएको छ । मतदान गर्न घर फर्कनेको चाप सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि बेला पहिरो खस्न सक्ने भएकाले तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको बताए ।

सडकमा २४ सैँ घन्टा सुरक्षाकर्मी, ठेकेदार कम्पनी, आयोजनाका कर्मचारी र जनप्रतिनिधिसहितले अनुगमन गरिरहेकाले दुर्घटना हुन नदिन र यात्रुलाई सहज बनाउन लागिएको छ । रातको समयमा सडक रोक्ने तयारी भएको भए पनि निर्वाचनलाई केन्द्रित गरेर केही दिन दिउँसो र राति दुबै समय सडक सुचारु गर्न लागिएको उनले बताए । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।