चितवन डाँका काण्डमा संलग्न दुई पक्राउ

चितवनको भरतपुर महानगरपालिका वडा नं २५ दिव्यनगर, चितहीमा गत् वैशाख ४ मा घटेको खुनडाँका घटनामा संलग्न दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज सोमबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद रु ८३ हजार १४०, एक थान पेस्तोल र सोको गोली छ थान, घटनामा प्रयोग भएको मोटरसाइकलको सकर रड एक थान, खुकुरी एक थान, चक्कु एक थान, ह्याम्मर एक र पेचकस एक थान बरामद गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
प्रहरी उपरीक्षक थापाका अनुसार सुनको सिक्री एक,सुनको मङ्गलसूत्र एक, घडी तीन, पञ्चरत्न बाला दुई, सिक्री एक, औँठी एक, चाँदीको पाउजु दुई जोर, नाकमा लगाउने फुली दुई, कानमा लगाउने टप एक, कानमा लगाउने मुन्द्रा दुई र सुनको ढिक्का एक थान पनि उनीहरुको साथबाट बरामद गरिएको छ ।
घटनामा संलग्न रहेको आरोप लागेका पर्वत राम्जा घर भई भरतपुर महानगरपालिका–२५ दिव्यनगर ससुराली बस्ने २५ वर्षीय कृष्ण शाही ठकुरी भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।
घटनापछि क्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धानपश्चात् घटनाको सत्यतथ्य पत्ता लगाई लुटिएको धनमालसहित अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।
गत वैशाख ४ गते राति भरतपुर महानगरपालिका वडा नं २५ दिव्यनगरमा ३२ वर्षीय गङ्गासागर महतोको घरमा हतियारसहित जबर्जस्ती प्रवेश गरी उनीहरुले परिवारका सदस्यलाई घाइते बनाई धनमाल लुटेका थिए । उनीहरुले गङ्गासागरलाई कन्चटमा गोली प्रहार गरी गम्भीर घाइते पनि बनाएका थिए ।
त्यसैगरी उनीहरुले ५५ वर्षीया साहुनी महतो र २७ वर्षीया रामकुमारी महतोलाई पनि हतियार प्रहार गरी घाइते बनाएका थिए । गङ्गासागरको उपचारका क्रममा मृत्यु भएको थियो भने साहुनी र रामकुमारी उपचारपछि घर फर्किएका थिए ।