एक साता अघिदेखि माडी अन्धकारमय


चितवन। चितवनको माडी नगरपालिकाका बासिन्दा विगत एकहप्ता अघिदेखि अन्धकारमा छन् ।
माडी क्षेत्रको लागी चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनिबाट लगिएको तारमा खराबी आएकाले गत् असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, हामीले हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा छैन, भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने ।
केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले भारतबाट मेसिन मगाइएको जानकारी दिए । पोल गाडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरबाट विद्युत् बाल्न सुरु भएको हो । विद्युत् सञ्चालनका लागि विसं २०५७ सालमा रु ५० लाख खर्चेर माडीमा गाडिएको पोल जीर्ण हुँदासमेत बिजुली बल्नुको साटो तार र पोल कुहिए । विसं २०६७ बाट नयाँ परियोजना आएर काम थालेको हो । भारतीय शैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा नयाँ परियोजना सञ्चालन भएको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताए । भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक यही २०६३ साल कात्तिकमा विद्युत् पुगेको थियो । झन्डै चार हजार ग्राहक भइसकेका माडीमा अहिले विद्युत् नहुँदा उनीहरु आठ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले विद्युत् प्राधिकरणमा बिजुली सञ्चालनका लागि दबाब दिइरहेको भए पनि अझैसम्म मर्मत हुन नसकेको बताए ।