आजबाट भारतसँग जोडिएका सीमानाका शील


१२ असार, काठमाडौं । आगामी असार १४ गतेको चुनावलाई मध्यनजर गर्दै चुनाब हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । निर्वाचनमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु आजबाट बन्द गरिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले दिएको जानकारी अनुसार नेपालसगँ सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के कस्तो छ त्यसको विश्लेषण गरेर आजबाट नाकाहरु सिल गरिएको छ । काफ्लेका अनुसार कुनै जिल्लामा दुई दिन र कुनै जिल्लामा तीन दिन नाका बन्द गरिएको छ । स्थानीय प्रहरी प्रशासनले आफ्नो समकक्षीहरुसँग बैठक बसेर कसैले दुई दिन कसैले तीन दिन बन्द गर्ने कार्य भएको छ, उनले भने । आपराधिक घटना हुन नदिने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने नेपाल र भारतका अधिकारीहरुबीच सहमति भएको छ ।
आजबाट बन्द गरिएका सीमानाकाहरु चुनावपछि मात्रै खुल्नेछन् । चुनाव नहुने जिल्लाहरुका सीमा नाकाहरु भने बन्द नगरिएको गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए । तर, भोट हाल्न भारतबाट फर्कनेहरु र औषधि उपचारका लागि भारत जानेहरुका लागि भने नाका बन्द नरहेका प्रवक्ता काफ्लेले बताए ।