नक्कली सिआईबी प्रहरीको फिरौती धन्दा

 

काठमाण्डौ, ५ असार । एक व्यवसायीले गत पुस ७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिए। जसको व्यहोरामा लेखिएको सार थियो, आफूलाई काठमाडौंबाटै एउटा गिरोहले अपहरण र्गयो। २ लाख रुपैयाँ, ६ तोला सुन र खाली चेकमा हस्ताक्षर गराई फिरौती बुझाएर मुक्त भएँ।

सोही समय ती कन्टेनर व्यवसायीजस्तै काठमाडौंकै एक निर्माण व्यवसायी पनि अपहरणमा परेका थिए । तिनी पनि उसैगरी नगद बुझाएर मुक्त भएपछि महाराजगन्ज प्रहरी वृत्तमा अपहरणको घटनाबारे निवेदन दिएका थिए।

अनौठो त के छ भने अपहरणका यी दुवै घटनामा युवती प्रयोग गरिएको थियो । अपहरणकारीले आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी भएको भन्दै बन्दुक र हतकडीको प्रयोग गरेका थिए। यसरी लामो समयदेखि नक्कली सीआईबीका नाममा अपहरण धन्दा चलाउने गिरोहका ४ जनालाई ब्युरोले पक्राउ गरेको छ। ब्युरोका अनुसार पक्राउ परेका चारैजना यसअघि पनि अपहरण तथा अन्य जघन्य अपराधका घटनामा संग्लन रहिसकेका व्यक्ति हुन्।

यो गिरोहले सुन्दर युवतीको प्रयोग गरी पैसावाल व्यक्तिलाई फसाउँथे र अपहरण गरी यातना दिई फिरौती असुल गर्थे । ब्युरोले यही धन्दामा लामो समयदेखि सक्रिय रहेका कुविन भन्ने कोलबहादुर थापा र सरु केसी भन्ने आशिका परियारलाई पक्राउ गरेको थियो । ब्युरोका अनुसार सोही मुद्दामा मुख्य प्रतिवादी रहेका कामरेड कुमार, रोशन, कुमानन्द भन्ने कोमानन्द खडका र नवीनकुमार खडकालाई यसअघि नै पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि नख्खु कारगारमा पठाइसकिएको छ।

प्रहरीले सुन्दर युवतीको प्रयोग गरी व्यक्ति फसाउने अर्थात् ‘हनी ट्रयाप’ मा पारेर फिरौतीको धन्दा चलाउने यो गिरोहले थुप्रैबाट रकम असुलिसकेको निष्कर्ष निकालेको छ । ब्युरोका अनुसार गिरोहले पैसावालहरू फसाउन आसिकालाई प्रयोग गरेको देखिन्छ । फोनमार्फत आसिका विभिन्न व्यापारी र पैसावालको सम्पर्कमा पुग्थिन् । केही चरणको भेटघाटपछि उनले सबै सूचना र जानकारी कोमानन्दलाई उपलब्ध गराउँथिन् । अपहरण र फिरौती असुलीको सबै योजना भने कोमानन्द आफैंले तयार पार्थे।

कोमानन्द, नवीन र कोलबहादुरले अपहरित व्यक्तिलाई आफू सीआईबीको डीएसपी, इन्सपेक्टर र असई भएको भन्दै नक्कली परिचय दिन्थे । उनीहरूले फिरौती असुलीमा प्रहरीले जस्तै पेस्तोल बोक्ने र नक्कली हतकडीको प्रयोग गरेको देखिन्छ । व्यक्तिलाई अपहरण गरिसकेपछि बन्धकमा पारेर एक स्थानबाट अन्यत्र लैजाँदा ठाउँ पहिचान नहोस् भनेर अपहरणकारीले पीडितलाई कालो टेप टाँसिएको कालो चस्मा लगाइदिन्थे।

ब्युरो प्रवक्ता एसएसपी मीरा चौधरीका अनुसार यो गिरोहले अपहरण फिरौतीको धन्दा लामो समयदेखि चलाएको देखिन्छ । ब्युरोका अनुसार केही महिनाअघि मात्रै यही समूहले लागूऔषध कारोबारमा जेल परि सजाय भुक्तान गरिसकेका एक व्यक्तिलाई धम्की दिएर २ लाख रुपैयाँ असुलेका थिए । भनेजति पैसा नदिए लागूऔषध राखेर फेरि फसाइदिने धम्की तारन्तार पाएपछि ती व्यक्तिले रकम बुझाएका थिए।

कुमानन्द २०५९ जेठ २९ मा भएको कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । उनीसहित यो समूहले २०७३ मा अमेरिकन एम्बेसीका एक कर्मचारीलाई अपहरण गरी फिरौती असुलेका थिए । त्यस्तै सोही वर्ष सिन्धुलीका एक निर्माण व्यवसायी, न्युरोडका व्यापारी, सिन्धुपाल्चोकका १ कन्टेनर व्यवसायीलाई पनि अपहरण गरी फिरौती असुलेका थिए। आजको पत्रपत्रिकामा यस सम्विधि खबर छापिएको छ ।