दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको हो ।

प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १११ नगरपालिका र २१५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल आठ हजार ३६४ मतदानकेन्द्र कायम गरिएको छ ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ८ देखि अपराह्न ४ बजेसम्मको समय तय गरिएको छ ।

दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।