जब भोकाएको बाख्राले क्वाप्पै खाइदियो एक लाख…

आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ । भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो ।

स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए । गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको बिटो थुतिदिएछ, उनलाई पत्तै भएन ।

जब नुहाइसकेपछि लुगा लगाउन उनी लुगा झुण्डाएको ठाउँतर्फ पुगे तब उनले बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सकने । अरु ३१ वटा नोट बाख्राले चपाइवरी निलिसकेको थियो ।

आफ्नै मूल्यभन्दा कैयौँ गुणा धेरै मालिकको पैसा चपाइदिएपछि उक्त बाख्रो एकाएक सेलिब्रेटी बनेको छ । उक्त बाख्रालाई हेर्न भन्दै स्थानीय मानिसहरु सर्वेसकहाँ पुग्ने गरेका छन् ।

उनलाई कतिपयले पशु चिकित्सककोमा गएर बान्ता गर्ने औषधि खुवाएर पैसाका नोट बान्ता गराउने सल्लाह दिए भने कतिपयले बाख्रालाई अपराधीको रुपमा पुलिसकोमा बुझाइदिने सल्लाह दिए । तर सर्वेस र उनकी पत्नीचाहीँ आफ्नो घरपालुवा बाख्रोप्रति क्रुर बन्न सकेनन् । साँच्ची उनीहरु उक्त बाख्रोलाई सन्तानजस्तै माया गर्दछन् ।
एजेन्सी