एमालेका नेताले एमालेकै नेतालाई हराए

२९ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको चुनावमा एमालेका नेताले एमालेकै नेतालाई हराएको बताएका छन् । उनले यसबारे पार्टीको बैठकमा कुरा राखेको र उनीहरुमाथि कारवाही हुनुपर्ने मागसमेत गरेका छन् ।

सोमबार राजधानी दैनिकमा प्रकाशित अन्तरवार्तामा एमाले नेता नेपालले पार्टीभित्रको अन्तरघातका विषयमा खुलासा गरेका हुन् ।

राजधानीकर्मी सुभाष साहसँगको अन्तरवार्तामा नेता नेपालले भनेका छन्– ‘काठमाडौंकै दक्षिणकाली, ललितपुर, सुर्खेत, दैलेख लगायतका ठाउँमा पार्टीका नेतालाई पार्टीकै नेताले हराउने काम भएको छ । यो सबै कुरा मैले बैठकमा उठाएको छु । दोस्रो चरणको निर्वाचनपछि कारवाहीको विषय बन्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले अन्तरघात नभएको भए पहिलो चरणको चुनावमा एमालेले १५० सीट जित्ने दाबीसमेत गरेका छन् ।

एमाले नेता नेपालको भनाइ छ– ‘पहिलो चरणको निर्वाचनमा आवश्यकता अनुसार उपयुक्त उम्मेदवार भएनन् । कतिपय ठाउँमा उपयुक्त उम्मेदवार हुँदाहुँदै पार्टीभित्रैबाट उसलाई हराउने काम भएको छ । यी सबै कारणले जति सीट ल्याउनुपर्ने हो, त्यस्तो आउन नसकेकै हो । पहिलो चरणको निर्वाचनमा एमाले १५० सीट भन्दा बढी तहमा जित्नुपर्ने हो ।’

पहिलो चरणको चुनावमा माओवादी र कांग्रेसको गठबन्धन र सत्ताको दुरुपयोग भएको छ नेता नेपालले अन्तरवार्तामा बताएका छन् । तर, यी सबै चुनौतीका बाबजुद पनि एमालेको पक्षमा राम्रै रिजल्ट आएको उनको विश्लेषण छ ।

पार्टीभित्र गुटबन्दी गर्ने र आफ्नै मान्छेलाई हराउनेहरुलाई कारवाही गरिनुपर्ने नेता नेपालको माग छ । उनले भनेका छन्– ‘गुटबन्दी गर्ने, आफ्नै पार्टीका उम्मदेवारलाई चुनाव हराउन खोज्नेलाई तुरुन्त कारवाही गर्नुपर्छ । आफ्ना मान्छे भन्दै जोगाउने, कारवाही नगर्ने, गुटबन्दीमा लागे पार्टी वा अरु कसैलाई फाइदा हुँदैन ।’

तर, यस्तो कारवाही दोस्रो चरणको चुनाव सकिएपछि गर्नुपर्ने र यसबारे पार्टीमा कुरा उठ्ने एमाले नेता नेपालको भनाइ छ । उनले अन्तरवार्तामा भनेका छन्– ‘निर्वाचनका बेलामा सबै विषयहरु उठाएर अघि बढ्न सकिँदैन । निर्वाचनपछि गल्ती भएका विषयमा यथोचित प्रश्नहरु उठ्नेछन् । कार्यकर्ताको मनोभावना अनुसार बैठकमा कुरा उठ्छन् ।

सोही अन्तरवार्तामा पूर्वप्रधानमन्त्री नेपालले राजपालाई निर्वाचनमा ल्याउन एमाले लचक हुन तयार रहेको बताएका छन् । तर, असार १४ को निर्वाचन कुनै हालतमा सार्न नहुने उनको सुझाव छ ।
२०७४ जेठ २९ गते ९स्०५ मा प्रकाशित