राजधानीबाट हटाइएका थोत्रा गाडी चितवनमा भित्रिन सक्छन

चितवन । २०६२ सालमा चितवनमा राजधानीबाट हटाइएका थोत्रा टेम्पुहरु आए । राजधानीमा प्रदूषण भएको भनी हटाइएका टेम्पु कालो धुवाँ फाल्दै आजसम्म चितवनमा गुडिरहेका छन् । सरकारले फागुन १८ गतेदेखि राजधानीबाट २० वर्ष पुरानो गाडी हटाउने भएको छ । पुनः ती थोत्रा गाडी चितवनमा भित्रिन सक्छन् ।

थोत्रा गाडी भित्रने सहर अर्थात डम्पिङ साइड चितवनलाई बनाउन नदिनका लागि सरोकारवाला सबै पक्ष एक हुनुपर्ने अवस्था आएको छ । चितवनको हकमा पनि पुराना सवारी बढी जसो विद्यार्थी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न छन् । बोडिङले अभैm पनि पुराना गाडी विद्यार्थी बोक्न प्रयोग गर्छन् ।

त्यस्तै सदरमुकामबाट गाउँतर्फ चल्ने बसहरु पनि केही पुरानो भइसकेका छन् । चल्दै जाँदा गाडी कहाँ नेर बिग्रन्छ थाहा हुन्न । पुराना गाडीहरुको इन्जिन र पार्टपुर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ । तर, त्यस्ता पुराना गाडीहरु शान्ति क्षेत्र घोषित विद्यालयमा समेत प्रयोग हुने गरेका छन् । ‘राजधानीबाट हटाइएका गाडी देशभर नै चलाइनु हुन्न’, नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष मित्र केसीले भने,‘चितवनलाई डम्पिङ क्षेत्र बनाउन दिनु हुन्न ।’ नयाँ गाडी लिनेलाई पुरानै नम्बर उपलब्ध गराउनुपर्ने भन्दै यातायात व्यवसायी केसीले चितवनमा भित्रनबाट थोत्रा गाडीलाई रोक्नुपर्ने बताए ।