पशुपालक व्यवसायी धरासायी बन्दै, २ वर्षमा १५० ले व्यवसाय छाडे

चितवन । व्यवसायिक पशुपालन गरेका भरतपुर–२९, पृथ्वीनगरका हरिशचन्द्र अधिकारीले पशुपालन व्यवसाय छोडि अहिले कापी उद्योग संचालन गरेका छन् । त्यसैगरी भरतपुर गोपालगञ्जका कृष्ण भट्टराईले पनि ३० ओटा गाई सहित २ वर्ष सम्म चलेको व्यवसाय बिचैमा छाडे ।  लाखौं लगानी भएको व्यवसायबाट हात हटाउने यी दुई त प्रतिनिधि पात्रमात्र हुन् ।

२ वर्षको अवधिमा यसरी नै व्यवसायिक पशुपालन व्यवसाय छाड्नेको संख्या चितवनमा करिब १५० जति रहेको व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी बताउँछन् । ठूलो लक्ष्य बनाएर सुरु गरेको व्यवसाय छाड्नुको मुख्य कारण २ वर्ष सम्म दुधको मूल्य नबढ्नु र यसै अवधिमा गाईको लागि आवश्यक दाना, चोकर, परालको मूल्य आकासिनु हो, भन्छन् अध्यक्ष भण्डारी । उनका अनुसार दाना, परालको मूल्य मनोमानी ढङ्गले बढेको छ । यस्ता गाईभैंसीका खुवाउने खाध्य वस्तुमा दाना, पराल व्यवसायीहरुले आफूलाई मन लागेको मूल्य कायम गरेको भण्डारीको आरोप छ ।

यस्ता वस्तुको मूल्यमा कुनै मापदण्ड नभएको उनी जिकिर गर्छन् । दाना, पराल व्यवसायीलाई सरकारले मुकदर्शक भएर हेरी दिंदा त्यसको चर्को मर्कामा पशुपालक व्यवसायी परेको यिनीहरुको भनाई छ । ‘दुई वर्ष भयो दुधको मूल्य बढ्दैन्, तर गाईभैंसीका लागि चाहिने दाना, परालको मूल्य भने दिन बिराएर बढेको छ । त्यसैले यस व्यवसाय छोड्नेको संख्या बढ्दो छ ।’

दुधको मूल्य दुई वर्ष देखि पुरानै कायम गराउने र दाना, परालको मूल्य वृद्धिमा भने बेखवर भएर बस्ने सरकारको नियत ठिक नभएको पशुपालक व्यवसायी बताउँछन् । लागत बढि आम्दानी शुन्यको स्थितीमा रहँदा चितवनका पशुपालक व्यवसायी धरासायी बन्दै गएको उनीहरुको दावी छ । यि व्यवसायीहरुका अनुसार प्रति लिटर दुध उत्पादनको लागत रु. ४२ रुपैयाँ छ भने बेच्ने मूल्य रु. ४५ रुपैयाँ छ ।

सो मूल्यको दुधलाई डेरी संचालक वा दुध बिक्रेताले रु. ७० रुपैयाँमा उपभोक्तालाई बेच्दै आएका छन् । यस जानकारीलाई आधार मान्दा उत्पादक र उपभोक्ता मर्कामा छन् भने बिचौलिया मालामालको अवस्थामा रहेको प्रष्ट हुन्छ । दुई वर्ष अघि करिब ५ सय पशुपालक किसान रहेकामा हाल त्यो संस्था घटेर करिब ३ सय ५० को हाराहारीमा व्यवसायी रहेको अध्यक्ष कृष्णराज भण्डारीले बताए । दुधको राजधानी भनेर चिनिने चितवनमा दैनिक सरदर साढे २ लाख दुध उत्पादन हुने भण्डारी बताउँछन् ।

यस उत्पादन मध्ये ४० प्रतिशत दुध जिल्लामा नै खपत हुन्छ भने ६० प्रतिशत दुध काठमाडौं, पोखरा लगाएका शहरमा पठाईने गरिएको व्यवसायीले हामीसँग बताए । चितवनमा हाल करिब १२ हजार गाई, भैंसी व्यवसायीक रुपले पालिएको छ र १० ओटा भन्दा बढि गाई, भैंसी पालेकालाई व्यवसायिक पशुपालक भनिएको अध्यक्ष भण्डारील जानकरी दिए । सरकारले अब पनि पशुपालक व्यवसायीलाई समयमा सम्बोधन गर्न नसके थप व्यवसायी यस व्यवसायबाट पलायन हुने अध्यक्ष भण्डारीको ठम्याई छ ।