पारिवारिक घटना दर्ता सम्बन्धि जनचेतनामुलका प्रदर्शनी

ललितपुर । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए ।

स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’

कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् ।

कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् ।

कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।