सम्पादकीय: क्रियाशिलतालाई सदस्यता दिन किन आनाकानी ?

नेपाल पत्रकार महासंघलाई पेशामा क्रियाशिल आम पत्रकारहरुको साझा संस्था बनाउनुपर्छ भन्ने बहस धेरै अगाडि देखी चल्दै आएको भएपनि त्यो अहिले सम्म साकार हुन सकेको छैन । महासंघमा आफ्नो पकड कसरी कायम राख्ने भन्ने मानसिकताले गर्दा गैर पत्रकारलाई पत्रकार बनाई सदस्यता प्रदान गर्ने प्रवृति हावी बन्दै गएको छ ।

एकातिर राज्यको चौथो अंङ्गको रुपमा स्थापित मिडिया क्षेत्रमा क्रियाशिल पत्रकारहरुले सहजै सदस्यता नपाउने अर्को तर्फ ब्यापारीहरु,ठेकेदारहरु, विभिन्न एन.जि.ओ, आई.एन. जि.ओ. मा कार्यरत कर्मचारीहरु र पत्रकारितामा कुनै साइनो एवं सम्बन्ध नै नभएकाहरुले समेत सदस्यता प्राप्त गरिरहेका छन् । यो अवस्थालाई विडम्बना नै मान्नु पर्दछ । पत्रकार महासंघमा ब्यापक शुद्धता र आमुल परिवर्तन गर्नु अति जरुरी भईसकेको छ ।

नेपाल पत्रकार महासंघले आफ्नो महाधिवेशन तय गरिसकेको छ । जिल्ला शाखा र एशोसियट शाखाहरुको धमाधम निर्वाचन अगाडि बढिरहेको छ । तर देशभरका जिल्ला शाखामा निश्क्रिय, गैर पत्रकार, पेशा र कार्यक्षेत्रमै नरहेकाहरुको सदस्यता नविकरण भई रहने प्रवृतिले गर्दा महासंघको शुद्धिकरणलाई  असम्भव तुल्याइदिएको छ ।

चितवन जिल्लामा पनि बर्षौ बर्षबाट क्रियाशिल पत्रकारहरुले सदस्यता नपाएको र अन्य गैंर तथा निश्क्रिय पत्रकारहरुले सदस्यता प्राप्त गरेको दृष्टान्त छर्लड्डै देखिएको छ । यसै सन्दर्भमा क्रान्तिकारी पत्रकार महासंघले गत् कार्तिक १५ मा ज्ञापनपत्र पेश गरी आन्दोलनमा उत्रिएको थियो । चरणबद्ध आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार महासंघ सँग गत सोमबार ५ बुँदे सहमति भयो । तर चितवन महासंघले सहमति भएको एक हप्ता हुदाँ समते क्रान्तिकारी पत्रकार महासंघ पुनःआन्दोलनमा उत्रिएको छ ।

क्रान्तिकारीले उठाएको माग र गरेको आन्दोलन सही प्रमाणित भएको छ । अहिले चितवन महासंघको अपारदर्शतिा र पक्षपातीपूर्ण ब्यवहारको विरुद्ध नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ लगाएतका पत्रकार सम्बन्ध संघ संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका छन् । अतः नेपाल पत्रकार महासंघ चितवन शाखा क्रियाशिल पत्रकारलाई सदस्यता दिन किन आनाकानी गरिरहेको छ । यो विषय बुझि नसक्नुछ ।

तसर्थ निश्क्रिय एवं पत्रकारितालाई मुख्य पेशा नबनाएका ब्यक्तिहरुको सदस्यता खारेज गर्नु र क्रियाशिल पत्रकारलाई  सदस्यता प्रदान गरी अहिलेको विवाद अन्त्य गर्नु पर्दछ । त्यसो गर्न महासंघलाई के ले रोकिरहेको छ ? समयक्रम सँगै प्रष्टियला नै ।