परम्परालाई परिमार्जन गर्दै महोत्सव,दर्शकको भिड उस्तैं

११ औं चितवन महोत्सव  गत् पुस २५ गतेबाट सुरु भएको छ । महोत्सवको एक भव्य समारोहकाबीच  गत् सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रधामन्त्री दाहालले चितवनको विकासका लागि आफू वृहत प्याकेज ल्याउन लागेको जानकारी दिँदै जिल्लाको विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले चितवनसहित देशलाई नै लोडसेडिङ मुक्त बनाउन उर्जा मन्त्रालयलाई निर्देशन दिईसकेको बताए । ‘प्रचण्ड’ले चितवनमा एक साता भित्रमा लोडसेडिङ अन्त्य गर्ने तयारी भईरहेको समेत जानकारी गराए ।
उद्घाटन समारोहमा साँसद कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, गीता वाग्ले, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मशेश बराललगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन सत्र आयोजक उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । आगामी  माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिइएको महोत्सव अवधिमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने छ ।
महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । विगतको परम्परालाई परिमार्जन गर्दै यस वर्ष बालउद्यान हटाइएको, पास वितरण रोकिएको र पान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई स्टल नदिइएको बताइएको महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले जानकारी दिए । महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल हुँदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २० करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ ।