डाक्टरहरु नै निजीमा विरामी लैजान सक्रिय

सुर्य बराल
चितवन ।  जिल्ला प्रहरीले क्यान्सर अस्पताल र आसपासका क्षेत्रबाट क्यान्सरका बिरामी निजी अस्पतालमा लैजान सक्रिय रहेको आरोपमा केही साना बिचौलीयाहरुलाई पक्राउ गरी कारबाही गरिरहेको छ ।

क्यान्सरका बिरामी चौविसकोठी स्थित अस्पताल रोडमा सञ्चालित निजी अस्पतालहरुमा लैजान ‘दलाली’ गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राऊ गरी प्रशासनले कारबाही गरेको हो । पक्राऊ परेकाहरुले त्यस्तो कार्य आफूहरुले मात्र नगरेको बताएका छन् । उनीहरुको संकेत क्यान्सर अस्पतालकै उच्च ओहोदामा आसिन बरिष्ठ डाक्टरहरु प्रति केन्द्रित थियो ।

हुन पनि अस्पताल रोडमा सञ्चालित निजी अस्पतालमा क्यान्सरका विरामी आकर्षित गर्न स्वयं डाक्टरहरु नै सक्रिय रहेको आशांका गर्ने प्रसस्त ठाउँ भेटिन्छ । अस्पताल रोडमा सञ्चालित निजी अस्पताल तथा क्लिनिकहरुमा क्यान्सर अस्पतालका २ दर्जन भन्दा बढी डाक्टरहरु क्रियाशिल रहनुले पनि त्यो आशांकालाई पुष्टि गर्न मद्धत मिल्दछ । उसो त कतिपय डाक्टरहरु क्यान्सरको ड्युटि समयमै निजीमा धाउने गरेको समेत पाईएको छ ।

गत केही दिन अगाडि यसरी नै आफ्नो कार्यालय समयमा निजी अस्पतालमा काम गर्ने दुइ जना क्यान्सरका डाक्टरहरुलाई प्रहरीले पक्राऊ गरेको थियो । क्यान्सरका वरिष्ठ डाक्टरहरु नै अधिकांश समय निजीमा धाउने गरेको पाइन्छ । यसरी निजी धाउनेहरुमा क्यान्सर अस्पतालका पुर्व डाइरेक्टर र अध्यक्ष भई सकेका डा. भक्तमान श्रेष्ठ, अग्रस्थानमा आउँछन ।

उनको आफ्नै निजी लगानी रहेको सामुदायक नाम तर सिमित व्यक्तिहरुले फाईदा लिईरहेको नारायणी सामूदायिक अस्पतालका साथै अन्य निजी अस्पतालमा उनले प्रायः समय दिने गर्दछन । क्यान्सरमा भ्रष्टचार गरेको भन्दै उनलाई गत केही महिना अगाडि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही समेत गरेको थियो ।

त्यस्तै क्यान्सरकै बहालवाला कार्यकारी निर्देशक चिनी बहादुर (सि.वी) पुन अस्पताल रोडकै जयबुद्ध अस्पताल धाउने गर्दछन् । उनी बहाल वाला डाईरेक्टर भएर पनि अस्पताल सुधार्न लाग्नुपर्नेमा आफै पैसा कमाउने ध्याउन्न मौनरहीरहेका अर्का डाक्टर देज गौतम पनि चौविसकोठी स्थित आफ्नै शेयर लगानीमा सञ्चालित चितवन अस्पतालमा धाउने गर्दछन् ।

गत केही दिन अगाडि चितवन अस्पतालबाट पक्राउ परेका डाक्टरलाई कारबाही गर्ने बयान दिइएका यि डेपुरी आफैं क्यान्सर छाडी निजी धाउने डाक्टरहरु मध्ये एक नम्बरमा पर्दछन । उनको चितवन अस्पतालमा क्यान्सरकै डा. ज्ञान बहादुर श्रेष्ठ, डा. सुनिल आचार्य, डा. विनय ठाकुर लगायतका आदा दर्जन डाक्टरहरु नियमित रुपमा निजी धाईरहेका छन् ।

त्यसैगरी अस्पताल रोडकै नेशलन सिटीमा क्यान्सरका आदा दर्जन जति संख्यामा डाक्टरहरु सक्रिय छन् । डा. विनुमा श्रेष्ठ, डा. निर्मल लामिछाने, डा. दिलिप कर्माचार्य लगायतका डा. हरु सिटीमा धाउने गरेका छन् । त्यस्तै अस्पताल रोडकै शान्ति अस्पतालमा क्यान्सरकै डा. पदमराज सिग्देल, डा. योगेश रेग्मी, डा. अरुण सिग्देल र डा. भोला रौनियार लगायतका आदा दर्जन डा.हरु निजीमा धाइरहेका छन् ।

त्यस्तै जयबुद्धमा क्यान्सरका कार्यकारी निर्देशकको नेतृत्वमा डा. विश्वराम पौडेल, डा. रञ्जन राजभण्डारी , डा. जितेन्द्र परियार लगायतका लाई भ्याई–नभ्याई छ । त्यस्तै चौविसकोठी रोडमै रहेको सेन्ट्रल अस्पताल क्यान्सरको बिरामी तान्ने एक नम्बरमा पर्ने निजी अस्पताल हो । उक्त अस्पतालमा क्यान्सरकै डा. गंगा सापकोटा, डा. अनिल बिक्रम कार्की, डा. गुरुशरण शाह लगायतका मनुवाहरु ज्यान फालेर लागेका छन् ।

यसरी मुख्य टाउकेहरु सहित क्यान्सरका ३ दर्जन भन्दा बढी डाक्टरहरु निजी अस्पताल धाउने मात्र गरेका छैनन आफ्नो प्रत्यक्ष लगानी रहेका ति निजी अस्पताल तथा क्लिनिकहरु को व्यापार बढाउन साना कर्मचारी, बिरामीका आफन्त बस्ने कतिपय होटल वाला र क्यान्सर गेट अगाडिको फार्मेसीवालाहरुलाई सानो–तिनो प्रलोभन दिई क्यान्सर अस्पतालकै वर्तमान र भविष्यमाथि गला रेटिरहेका छन् ।

वरिष्ठ भनिएकाहरु नै फाईदा र कमिशनको लोभमा क्यान्सर अस्पताललाई नै क्यान्सर ग्रस्त गराउन लागिपरेपछि अन्य साना–तिना प्रलोभनमा फस्ने नै भए । पुर्वी नेपालबाट आफ्नो आफन्त उपचारमा आएका एक सेवा ग्राहीले आफूलाई क्यान्सरमा टाईम लाग्ने भएकोले निजीमा आउन स्वयं क्यान्सरका डाक्टर र कर्मचारीहरुले सुझाएको बताए । यसरी क्यान्सर अस्पतालबाट अन्यत्रका निजी अस्पतालमा बिरामी पठाउनमा स्वयं क्यान्सरकै वरिष्ठ डा. र कर्मचारीहरु प्रत्यक्ष एव अप्रत्यक्ष रुपमा लागि परेको स्वय सिद्ध छ ।

गाउँ–गाउँबाट आउने सिधा–साधा सेवा ग्राही जनतालाई ब्ँवासोले खुन पिए सरी चुस्न पल्केका तिनीहरु माथि प्रभावकारी ढङ्गले कारबाही भने भएको छैन । प्रशासन प्रहरी र अन्य सम्बन्धित निकायले साना–तिनालाई कारबाही गरेपनि क्यान्सर अस्पतालका असली भाईरसहरु भने खुलेआम लुटधन्दामा लागिरहँदा पनि अहिलेसम्म राज्यले कारबाही गर्न सकेको छैन ।

क्यान्सरका तिनै वरिष्ठहरुले धनकमाउने लालचमा परी निजी अस्पतालहरुमा केमो चढाउने जस्तो अति संवेदनशिल र गैरकानूनी कार्य समेत गरिरहेका छन् । दिन दहाडै खुलेआम यस्तो धन्दा भईरहेको सूचना प्राप्त गरेपनि तिनीहरुमाथि कारबाही गर्न नसक्नु स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सम्बन्धित निकायहरुको जनता प्रतिको अनुत्तरदायी एवं चरम गैह्र जिम्मेवारीपना हो ।

प्रहरी र प्रशासनले पक्रेका बिचौलीयालाई कारबाही गरेर सामान्य प्रचार र सहानुभूति मिले पनि क्यान्सर अस्पतालका भाईरस उन्मुलनमा ठोस प्रगति नहुने आम विष्लेषण छ । तसर्थ क्यान्सर अस्पताललाई सुधार गर्ने हेतुले कारबाही अभियान चलाउने हो भने पहिले टाउकेहरुबाटै शुरु गर्नुपर्दछ ।

सम्बन्धित निकायले कारबाही गरी सुधार गर्न ढिलाई गरेमा एकातिर क्यान्सर अस्पतालको अवस्था थप जटिल बन्दै जाने मात्र हुने छैन सर्वसाधारण सेवाग्राहीको धेर्यताको बाँध टुटेमा कुनैपनि बेला आम अराजक्ताको स्थिती पैदा हुन जानेछ ।

स्वयं सेवाग्राही नै विद्रोहमा उत्रने वा विद्रोही शक्तिहरुले जनकारबाही गर्न समेत सक्ने भएकाले राज्यका सम्बन्धित निकायहरुले क्यान्सरमा सेवा नदिई अन्यत्रका निजी अस्पतालमा बिरामी ओसार्न सक्रिय वरिष्ठ डाक्टरहरुलाई छानविन प्रक्रिया अगाडि बढाई कारबाही गर्नुपर्दछ । सर्वसाधारण सेवा ग्राही र जनताको धेर्यतालाई कमजोरी ठानेमा निम्तिन सक्ने सम्भावित परिणामबाट कोही पनि बेखबर रहनु हुदैन् ।