अस्तब्यस्त बनाउदै गए भेटवाल

चितवन । चितवनका ट्राफिक प्रमुख राजन भेटवालले नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै गएका छन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

नारायणगढ भरतपुर बजार क्षेत्रमा आवश्यक भन्दा बढि सवारी भित्र्याउन भुमिका खेली लाखौ कुम्ल्याउन सफल भेटवाललाई कार्वाही हुनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिएका छन् । ३६० वटा भन्दा बढि ई–रिक्सा सामुहिक रुपमा जम्मा गराई सञ्चालन गर्न दिए बापत मात्र भेटवालले ई–रिक्सा पसलेहरु सँग रु २० लाख रकम खाएको कुरा खुल्नमा आएको छ ।

भण्डाफोरलाई एक विश्वस्त शुत्रले दिएको भरपर्दौ सुचना अनुसार भेटवालले लिएको रु २० लाख मध्ये केही रकम तत्कालिन प्रहरी प्रमुख बसन्त कुबेर भरतपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, प्रशासकिय अधिकृत टिकाराम कँडेल लगाएतलाई समेत बाँडेको तथ्य खुल्नमा आएको हो । ई–रिक्साबाट मात्र होइन भेटवालले चितवन टेम्पो समितिका सदस्य गोविन्द जमरकट्टेलले बताए । टेम्पो र म्याजिक समितिबाट मात्र होइन पछिल्लो समय भित्रिएको तिन पाङ्ग्रे अटो रिक्सा र नगरबसबाट समेत भेटवालले लाखौ रकम चट्काएको श्रोतले दाबी गरेको छ ।

यातायात ब्यवस्था कार्यालय नारायणी विरगञ्जले भरतपुर बसपार्कबाट गैडाकोट सम्म सञ्चालन अनुमति दिएको नगरबस जथाभावी चल्न समेत भेटवालले छुट दिएको खुल्नमा आएको छ । यसरी आफ्नो ब्यक्तिगत स्वार्थको लागि कानुन मिच्ने र चितवनको यातयात क्षेत्रलाई अस्त व्यस्त एवं अब्यवस्थित भिडभाड पैदा गराउने अधिकार भेटवाललाई कसले दियो ?

के भेटवाल एक्लैले झण्डै करोडौ रकम एक्लै चप्काएका हुन् या माथि सम्म बुझाएको कारण उनको हर्कतहरु देखी उपल्लो निकाय बेखवर जस्तो देखिएको हो । यस विषयमा सरोकारवाला यातायात ब्यवसायी, चालक, नारायणगढ भरतपुर बजार क्षेत्रका हस्तीहरु, राजनितीक पार्टीहरु, चितवन प्रहरी र जिल्ला प्रशासन कार्यालयले समेत अनुसन्धान र छानविन गरी सत्य तथ्य के हो, जनतालाई स्पष्ट पार्न सक्नु पर्दछ ।

अन्यथा तै चुप, मै चुप, सबै चुपको अवस्थामा फेरी पनि भेटवाल जस्ता पात्रले आफ्नो ब्यक्तिगत फाईदाको लागि हाम्रो सुन्दर शहर नारायणगढ भरतपुरलाई थप अब्यवस्थित नबनाउनलान् भन्न सकिन्न । भेटवाल त चितवनलाई अस्त ब्यस्त बनाउदै शरुवा भई सके । फेरी पनि नबनाउलान भन्न सकिन्न । उनको कारण बजार चितवनको यातायात क्षेत्र अस्त ब्यस्त नै छ । अतः यातायात ब्यवसायी र सरोकारवाला निकायहरुले यस विषयमा छानविन गरी यर्थाथ बाहिर ल्याई दोषाीलाई कार्वाही गर्न सक्नु पर्दछ । यसै विच यस विषयमा भेटवाल सँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।