ओली सरकार छिट्टै पतन हुन्छ: पूर्वमन्त्रि जनार्दन शर्मा


चितवन/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले ओली सरकार छिटै पतन हुने बताएका छन्। उनले यो सरकार छिट्टै पतन हुने भन्दै ओलिको असंवैधानिक कदमको विरुद्ध एम्बुलेन्स चालकहरुलाई एकजुट भएर संघर्षमा उत्रन अपील गरेका छन्।

आज मंगलबार भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारण सभामा मन्तब्यको क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कोमामा राखेको भन्दै देशमा आएको यो परिवर्तनलाई पछाडि फर्काउने उद्देश्यले प्रधानमन्त्री ओलीले संसद विघटन गरिएको शर्माको भनाई रहेको छ । संविधानमा लेखिएको जनताको अधिकार कार्यान्वयन हुन नदिन र जनताको मौलिक अधिकार खोस्ने उद्देश्यले संसद विघटन गरिएको उनको आरोप छ।
नेकापका नेता शर्माले संसद पुनःस्थापना गरेर एम्बुलेन्स चालकको मागलाई आफूहरुले सम्वोधन गर्ने शर्माले बताए । चालकका लागि ल्याइएको ऐनले एम्बुलेन्स चालकलाई मर्कामा परेको पाइएको बताउँदै उनले यसलाई संशोधन गर्नुपर्ने बताए ।

एम्बुलेन्स चालकलाई सल्लाह दिँदै शर्माले बिरामीलाई अस्पताल पु¥याउँदा उनीहरुको घरको अवस्था हेरेर सहज हुने अस्पतालमा लैजान आग्रह गरे । गरिब जनतालाई महंगा निजी अस्पतालमा नलैजान आग्रह गर्दै उनले एम्बुलेन्स चालकले यस्तो कुरामा विवेक पु¥याउनु पर्ने बताए ।

साधारण सभामा संघका महासचिव मुक्ति काफ्लेले सञ्चालन गरेको कार्यक्रम संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको थियो। सभामा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल विशिष्ट अतिथि रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यायल चितवनका प्रमुख नेत्रप्रसाद भट्टराई,एम्बुलेन्स चालक संघका विभिन्न सचिवालय सदस्य,विभिन्न अस्पतालका डाक्टर,राजनीति दलका नेता तथा भातृ संगठनका प्रमुख तथा प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए।

एम्बुलेन्स चालकका विभिन्न समस्याहरु रहे पनि सरकारले त्यसलाई समाधान नगरेको साधारण सभामा सहभागी चालकहरुको गुनासो छ।
देशभरका एक हजार भन्दा बढी एम्बुलेन्स चालकहरुको उपस्थिती रहेको सो कार्यक्रममा चितवनका केही पत्रकारहरु,विभिन्न जिल्लाका एम्बुलेन्स चालक तथा जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधलाई सम्मान गरिएको थियो ।