६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा निर्यातमा सुधार, आयातमा कमी

काठमाडौं/चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।

निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।
गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ ।
भारतसँग मात्रै ३ खर्ब ९५ अर्ब ३० करोड २६ लाख २६ हजार रुपैयाँको व्यापार घाटा छ । भारतबाट गत छ महिनामा ४ खर्ब ३८ अर्ब ८२ करोड ९७ लाख ८ हजार रुपैयाँको आयात भएको छ भने ४३ अर्ब ५२ करोड ७० लाख ८२ हजार रुपैयाँको निर्यात भएको छ । चीनसँग पनि ९५ अर्ब ८१ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।
तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५।८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१।५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ
चीनबाट यस अवधिमा ९६ अर्ब ३२ करोड ५२ लाख ८३ हजार रुपैयाँको आयात भएको छ भने निर्यात ५० करोड ७८ लाख ६१ हजार रुपैयाँको भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपैयाँको आयात हुँदा ४ लाख २५ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुलुकबाट ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी कात्तिकमा १ खर्ब १० अर्ब २२ करोड, मंसिरमा १ खर्ब २३ अर्ब १ करोड र पुसमा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।
हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजस्व संकलन गरिसकेको छ । यस वर्ष विभागले ४ खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
विभागका अनुसार नेपालबाट बाहिर निर्यात भएको पहिलो सूचीमा भटमासको तेल रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ अर्ब ३ करोड ३३ लाख ४० हजार रुपैयाँको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ । विभागका अनुसार ११ करोड ५६ लाख ४४ हजार ७ सय ७६ केजी सोयाबिनको तेल निर्यात भएको छ । विभागका अनुसार यो सबै तेल भारतमा निर्यात भएको हो ।
गत मंसिरसम्म १३ अर्ब ५० करोडको सोयाबिन तेल निर्यात भएको थियो । सोअनुसार पुसमा मात्र झन्डै ४ अर्बको सोयाबिन तेल निर्यात भएको देखिन्छ । त्यसपछि ३ अर्ब ७८ करोडको अलैंची, २ अर्ब ५२ करोडको कालो चिया र १ अर्ब ८८ करोडको गलैंचा निर्यात भएको छ ।
गत आवमा नेपालदेखि पाम ओइल सबैभन्दा बढी निर्यात हुन्थ्यो । तर यस वर्ष भने सोयाबिन तेल निर्यात बढी भएको छ ।
भारतले गत वैशाखदेखि पाम ओइल प्रतिबन्ध लगाएपछि अहिले यसको निर्यात हुन सकेको छैन । त्यसपछि नेपालमा पाम ओइलको व्यवसाय गर्दै आएका व्यवसायीले सोयाबिन तेलको उत्पादन बढाएका छन् ।
यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपैयाँको फलाम तथा स्टिल, २० अर्ब रुपैयाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब ३ करोडको एलपीजी ग्यास आयात भएको भन्सार विभागले जनाएको छ ।
एफआईयू–भन्सार विभाग सहकार्य
वित्तीय जानकारी इकाइ (एफआईयू) र भन्सार विभागबीच सहकार्य सम्झौता भएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी एवं आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीविरुद्ध लड्न समझदारी कायम गर्ने उद्देश्यले एफआईयू र भन्सार विभागबीच सम्झौता भएको हो ।
अब भन्सार नाकामा जफत तथा सजाय गरिएको मुद्दाको विवरण भन्सार विभागले निर्दिष्ट ढाँचामा भरेर वित्तीय जानकारी इकाइमा पठाउनेछ । भन्सार विभाग वा अन्तर्गतका कार्यालयले कानुनबमोजिम माग गरेको विवरण एफआईयूले उपलब्ध गराउनेछ । यी निकायबीच आपसी सहयोग तथा समन्वयका लागि एक संयुक्त समन्वय समिति पनि गठन गरिने भएको छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।