बन्दको अबज्ञा गरेको भन्दै विप्लव नेकपाका कार्यकर्ताद्धारा बोलेरोमा आगजनी!

काठमाडौं/नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको ’ नेकपाका कार्यकर्ताले मकवानपुरमा बोलेरो भ्यान जलाएका छन् ।
काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिए ।
मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार बिहान राक्सिराङ–५ खोप्लासीस्थित मनहरी खोला बगरमा ‘बम’ लेखिएको शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । घटनास्थलमा हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको र बिजुलीको रातोकालो तार बाहिर निकालिएको ‘बम’ लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरीको टोली र डिस्पोजका लागि नेपाली सेनाको टोली पुगी बम डिस्पोज गरिरहेको छ ।
नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आज नेपाल बन्दको घोषणा गरेको हो। महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको थियो ।
प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनि विप्लव नेतृत्वको नेकपाको तेस्रो बरियताका नेता हुन् ।