दर्ताबिना सञ्चालित डसना उद्योग बन्द ।

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता विना नै सञ्चालन आएका दुई  डसना उद्योगलाई बन्द गराएको छ । बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले भरतपुर ११ मा पर्ने दुई वटा डसना उद्योगलाई बन्द गराएको हो । अनुगमनमा क्रममा भरतपुर ११ विशाल चोकमा सञ्चालनमा आएका योक्ता सिरक डसना तथा कपास उद्योग र रफिकुल हुसेनको सिरक डसना पसल बन्द गरिएको शर्माले जानकारी दिए । पसल अनुगमनका क्रममा दर्ता विना नै उद्योग सञ्चालन गरेको पाइएपछि पसल दर्ता गरेको प्रमाणपत्र जिल्ला प्रशासनमा पेस गर्न निर्देशन दिएर पसलहरु बन्द गरिएको शर्माको भनाइ छ । त्यस्तै , अनुगमन टोलीले जिल्ला वन कार्यालय अगाडि रहेको प्रिति खाजा घरबाट करिब तीन लिटर घरेलु मदिरा समेत नष्ट गरेको छ । पसल अनुगमनका क्रममा अवैध रुपमा घरेलु मदिरा विक्री गरेको भेटिएपछि उक्त मदिरा नष्ट गरिएको बजार संरक्षण अधिकृत शर्माले जानकारी दिए ।
अनुगमनका क्रममा बजार संरक्षण अधिकृत ओम नारायण शर्मा सहित, खाद्य निरीक्षक प्रविण तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका विष्णु भुषाल, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो