महिला लागूऔषध प्रयोगकर्ता जोखिममा

चितवन। टाँडीकी विना (नाम परिवर्तन) साथीको लहैलहैमा लागूऔषधको दुव्र्यसनमा परिन् । पढाइमा कमजोर रहेकी उनी सोचेजस्तो नतिजा नआउँदा निकै चिन्तित हुन्थिन् ।
१४ वर्षकै उमेरमा उनी दुव्र्यसनमा फसेकी थिइन् । सडकमा ‘नसा’ का कारण बेबारिसे अवस्थामा फेला परेकी विनालाई प्रहरीले अस्पतालसम्म ल्याए । त्यसपछि उनी सामाजिक संस्था ‘एकता नेपाल चितवन’ मा पुर्नस्थापनाका लागि आवद्ध भइन् । अहिले कुलतबाट उम्कने प्रयासमा छिन् ।
६ वर्षसम्म नसामा डुबेँ, एसएलसीमा ‘फेल’ भएपछि म धेरै फ्रस्टेड भएँ”, उनले भनिन्, “अहिले उपचारका क्रममा रिह्याब सेन्टरमा छु, लतबाट उम्केर समाजमा फिर्ता हुन चाहन्छु ।” सो संस्थामा उनीजस्तै अन्य १५ जना छन् । महिला पुनस्र्थापना केन्द्रका रुपमा खुलेको सो संस्थाले लागूऔषधको दुव्र्यसनमा परेकाको लागि सेवा गर्दै आएको छ ।
रक्सी, गाँजाबाट म एडिक्ट बन्दै गएकी थिएँ, कयौंपटक बाटामा लडेँ, मलाई देख्दा पनि परिवार र समाजले त्यो बेला मेरो वास्तै गरेनन्”, शनिबार भरतपुरमा आयोजित अन्तरक्रियामा भनिन्, “अब असल मान्छे बनेर समाज फर्कन खोजेकी छु, आत्मनिर्भर बन्न सीप र तालिमको अपेक्षामा छु ।” उनी अहिले पढाइ बिगारेकोमा निकै दुःखी छिन् । राम्रो पढेको भए आज सजिलै ‘जब’ पाउने थिएँ, अब के गर्ने भन्ने पीर छ”, उनले दुखेसो सुनाइन् । उनले लागूऔषध प्रयोगकर्तालाई समाजले घृणाको दृष्टिले हेर्दा कुलतमा परेका सुध्रिएर पछि पुनः समाजमा फर्कन नचहाने गरेको बताइन् । “ड्रक्स प्रयोग गर्नेलाई जेल होइन, उपचार केन्द्र पु¥याउनुपर्छ”, उनले भनिन, जीवनको महत्व बुझ्नेछन्, असल बनेर घर फर्किन सक्नेछन् ।”
धादिङ घर भएकी अपेक्षा (नाम परिवर्तन) साथीसँग लागूऔषधको नसामा हराउँथिन् । नारायणी नदी किनारमा उनीसँगै अर्की एक साथी प्रायः देखा पर्थे । नारायणी तिरमा बस्ने, नसा लिने दैनिकीनै बनेको थियो । त्यस्तो अवस्था देखेपछि चितवनमा रहेको महिला लागूऔषध प्रयोकर्ताका लागि भर्खरै खुलेको संस्थामा लगियो । अहिले उनी नसा त्यागेर घरजम गरेर बसेकी छिन् । “घरले वास्तै गर्थेन, घरबाट टाडिएपछि म नसामा डुबेँ”, उनले आफ्नो विगत सुनाइन् ,“सुधार केन्द्रमा बसेपछि म नसा नलिने भएँ, अहिले २ बच्चा छन्, अहिले खुसी छु ।” उनका श्रीमान पूर्वलागूऔषध प्रयोगकर्ता नै हुन् । उनी संस्थाको रेखदेखमा झण्डै ८ वर्ष बसेकी थिइन् । उनलाई ४ वर्षसम्म पनि कोहि लिन नआएपनि उनले दिएको ठेगाना अनुसार मामाघर, घरसम्म संस्थाका पदाधिकारिनै पुगे । उनले आफन्तिनै भएपनि कोहि नभएको बताउँदै आएकी थिइन् । अन्ततः उनी लतमुक्त भएपछि परिवारले स्वीकारे ।
एकता नेपाल चितवनमा हालसम्म झण्डै ५ सय महिला लागूऔषध प्रयोगकर्ताले उपचार तथा परामर्श लिएका छन् । रामनगर ठिमुरामा रहेको सो संस्थामा आर्थिक वर्ष ०७३÷७४ मा ४३ जनाले आश्रय लिएका थिए । हाल १७ जना प्रयोगकर्ता लतमुक्त हुने अभियानमा छन् । सो संस्था सञ्चालक पनि पूर्वलागूऔषध प्रयोगकर्तानै हुन् । भीमनगरकी शान्ता घले महिलालाई लतमुक्त बनाउन सक्रिय छिन् । संस्थाले पहिलो तीन महिना परामर्श तथा उपचार संस्थामै राखेर गर्ने गर्छ । त्यसपछिको तीन महिना घरबाटै आउने जाने गरी परामर्श तथा उत्प्रेरणा दिने काम गर्छ ।

विवाह भएको ५ वर्षमै पहिलो श्रीमानलाई ‘ब्रेन ट्युमर’ का कारण उनले गुमाएकी थिइन् । त्यो बेला शान्ता १८ वर्ष्कि थिइन् । “निकै चिन्तामा परेँ, कलिला बच्चा थिए, कसरी हुर्काउने पीडा थियो”, उनले भनिन्, “म दुव्र्यसनमा फसेँ, उपचारका लागि अस्पतालमा भर्ना भएँ, झण्डै २२ दिन अस्पतालको उपचारपछि काठ्माण्डौ लगियो, दृष्टिनेपालमा तीन महिना बसेर सुध्रने काममा लागेँ ।” उनले लागूऔषध प्रयोग गर्नु गलत हो भन्ने सन्देश फैलाएर चेलिको उद्वार गर्ने कसम खाइन्, लागूऔषध छाडिन् । उनकी बहिनी स्वयम् स्टाफ नर्स थिइन् । बहिनिले थाहा पाएपछि उनी सुधारको बाटोमा लागेकि हुन् । उनी २ वर्ष यता दोस्रो विवाह गरेर बसेकी छिन् । मलाई बुझ्ने, माया गर्ने श्रीमान पाएको छु, खुशी छु”, उनले भनिन्, “कुलतबाट जोगाउन हातेमालो गरेका छौँ, हिजो भन्दा म फरक छु, समाजका लागि असल बनेर चिनिन चाहन्छु ।” उनले चलाएको संस्था एक दशकमा प्रवेश गर्दैछ ।
नेपालको पहिलो महिला लागूऔषध प्रयोगकर्ताको पुर्नस्थापना केन्द्रका रुपमा चिनिएको दृष्टि नेपालकी अध्यक्ष परिना सुब्बा लिम्बु ‘रिहाब’ सेन्टरलाई राज्यले चासोमा राख्न नसकेको बताउँछिन् । उनका श्रीमानलाई दुव्र्यसनको लतबाट छुटकारा दिलाउन नसकेपछि उनी लतमा परेकी हुन् । झण्डै १५ वर्ष यता उनी लागूऔषध प्रयोगलाई निरुत्साहित गर्नुपर्छ भनेर लागेकी छिन् । महिला सुधार सेन्टर पनि कम छन्, देशभरी १० वटामात्रै छन्”, उनले भनिन्, “सुधार पश्चात फर्कने चाहने महिलालाई हेर्ने समाजिक दृष्टिकोण सुधार छैन, स्वास्थ्य, रोजगार, शिक्षाको पहुँच दिनु आवश्यक छ ।” उनका अनुसार लागूऔषध प्रयोगकर्ता महिला धेरै किसिमका हिंसामा पर्ने गरेको बताइन् । प्रयोगकर्ता पुरुषको तुलनामा महिलाले सस्ता मानसिक रोगका औषधिलाई प्रयोग गर्ने क्रम बढी रहेको बताइन् । उनले रक्सी, गाँजा, चुरोट पश्चात निकै दलदलमा महिला पनि पर्न थालेको बताइन् ।
भरतपुर महानगरपालिका उपमेयर पार्वती शाहले महानगरलाई दुव्र्यसनमुक्त महानगर बनाउन कार्ययोजना बनाइने बताइन् । उनले सामाजिक संघसंस्थासँग समन्वय गरेर लागूऔषध नियन्त्रणको अभियान प्रभावकारी बनाइने बताइन् ।
चितवन मेडीकल कलेज भरतपुरका मनोरोग विशेषज्ञ डा. सिपी सेढाईले कुलतमा पसेपछि छुटाउन निकै कठिन हुने भएकाले परिवारले बेलैमा निगरानी तथा उपचार गर्नुपर्ने बताए । उनले दुव्र्यसनीले शारिरिक तथा मानसिक असर गर्ने भएकाले वृत सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताए । उनले सीमा नाकामा समेत कडाई गर्नुपर्नेमा जोड दिए । कुलतमा परेकालाई उपचारमा बेलैमा ल्याउन सके सहज हुने बताए ।कायाकैरनबाट