माओवादी केन्द्र बैठकको निष्कर्ष स् पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सम्पन्न भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहनुभएको छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।
बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराएका थिए ।