आकाशिएको महंगी बिरुद्ध चितवनका व्यवसायी बिरोधमा ।

चितवन/बैंक तथा वित्तीय संस्थाहरुले अव्यवहारिक र अवैज्ञानिक तवरले ब्याजदर बृद्धि गरेको भन्दै चितवनका ब्यबसायीहरुले आज (सोमबार) उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी ब्याजदर वृद्धिप्रति आपत्ति तथा बिरोध जनाएका छन् ।
माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने भनिए पनि एकतर्फी रुपमा कर्जामा व्याजदर निर्धारण गरिएको बिज्ञप्तिमा उल्लेख छ । ‘बैंक तथा बित्तीय संस्थाहरुको आधार दर बृद्धि गर्ने कामहरु भयो । जोखिमका आधारमा बढीमा २÷३ प्रतिशत मात्र थप प्रिमियम लिनु पाउने भए पनि ऋणीहरुबाट मनपरी ८ प्रतिशतसम्म प्रिमियम जोडी ब्याज लिन थालेको छ । माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुन्छ तर बैंक र बित्तीय संस्थाहरुले मनपरी एकतर्फी ब्याजदर बढाएका छन’्, बिज्ञप्तिमा भनिएको छ ।
बैँक तथा बित्तीय संस्थाहरुले कर्जा असुली, लिलाम गर्ने धम्की र बैँकको ब्याजदरमा अप्रत्याशित बृद्धि गरी आतंक सिर्जना गरिएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले ब्याजदर बृद्धिका कारण उद्योग व्यवसाय नै बन्द गरी बिस्थापित हुनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएकोे बताउनुभयो । कोभिडले मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको छ । रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्रसँगै अर्थतन्त्र धरापमा छ । अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको अवस्थामा निजी क्षेत्रले व्यवसायिक अवस्थालाई पूनःजागृत गरिरहेको समयमा ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको छ । नेपाल सरकारले विश्वको अवस्था, मुद्रास्फिर्तिलगायतको कारण देखाई यसरी सर्वसाधारण र व्यवसायीहरुलाई हतोत्साहित गराउँदै देशको अर्थतन्त्र नै धारासायी बनाउने कार्य गरेको उहाँको दाबी छ । यस्तै रहे देशको आर्थिक क्षेत्र टाट पल्टिने उहाँले बताउनुभयो । साथै श्रेष्ठले नेपाल राष्ट्र बैंक र गृहमन्त्रालयमा पत्राचार गर्ने काम भए पनि माग सम्बोधन नभएको गुनासो गर्नुभयो । विज्ञप्तिमा उल्लेख भएअनुसार उहाँले भन्नुभयो, ‘कर्जामा एक अंकको ब्याजदर कायम हुनपर्ने । निक्षेप ब्याजदर एक अंकभन्दा बढी हुन नहुने र व्यापारमा १ देखि २ प्रतिशतमात्र ब्याजथप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको सीघ्र व्यवस्थापन हुनुपर्ने । बैँकहरुको खर्च न्यून गरी स्प्रेडदर तीन भित्र रही जोखिमका आधारमा दरमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था हुनुपर्ने । उत्पादनमूलक उद्योगहरु स्थापनाका लागि जोड दिँदै कर्जा प्रक्रिया सहज र शुलभ बनाउनुपर्ने । बैँकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर बृद्धिलाई अन्त गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था हुनुपर्ने । विगतमा मौद्रिक नीति मार्फत् दिइएका छुटहरु कार्यान्वयन हुनुपर्ने । हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पूनःतालिकीकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गराउने । हालको बाह्य र आन्तरिक अवस्था उपयुक्त नभएकोले चालु पूँजीकर्जा निर्देशिका स्थगित हुनुपर्छ ।’
नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पूँजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा वर्तमान आर्थिक मन्दीको अवस्थामा बैँक तथा बित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर बृद्धि गरेको संघको बुझाइ छ । चितवनका निजी संघहरु सँगै देशभरका संघहरुले ब्याजदर बृद्धिको विषयमा विरोध जनाउँदै आएका छन् । व्यवसाय खोल्न भन्दा बन्द गर्न फाइदाभन्दै विराटनगरका व्यवसायीहरुले व्यापार बन्द गरेका छन् । देशभर ब्याजदर बृद्धिको विरोधमा शान्तिपूर्ण विरोध भइरहेको अवस्थामा चितवनका संघहरु पनि एकबद्ध भएका छन् । उद्योग वाणिज्य महासंघले ध्यान दिए यो समस्या छिनमै टर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुष्ण श्रेष्ठले बताउनुभयो । महासंघमा बैंक र बित्तीय संस्थासँग जोडिएका पदाधिकारी भएकाले पनि ध्यान नगएको श्रेष्ठको भनाइ छ । जसकारण जिल्ला–जिल्लाबाटै दबाब दिई महासंघलाई जगाउने क्रममा रहेको बताउनुभयो ।
महासंघका कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले राजस्व बुझाउने व्यवसायी सडकमा उत्रिनु भनेको दुर्भाग्य भएको बताउनुभयो । कार्यक्रममा चितवनका संयुक्त निजी संघहरुले माग पूरा नभए दबाबमुखी सशक्तकार्यक्रमहरु देशव्यापीरुपमा गर्ने चेतावनी दिएका छन् ।