बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती

काठमाण्डौं/आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भए पनि कार्यक्रममा नै सीमित रहेको उनीहरूको गुनासो छ ।

नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताउनु भयो । न्युज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने,नयाँ उद्यमीलाई सिटिभिटिबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताए । अध्यक्ष श्रेष्ठले सरकारले भएका उद्योगको क्षमता वृद्धि गरेर युवाहरूलाई स्वरोजगारसहित उद्यमी बनाउनुपर्ने जिकिर गरे । युवाले सरकारसँग धेरै अपेक्षा नराखी सरकारले युवा उद्यमीको लागि ल्याएका कार्यक्रम बोनसमा राखेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सरकारले कार्यक्रमहरू ल्याए पनि कार्यान्वयनको लागि नीति बनाउन नसकेकाले सबैभन्दा पहिला नीति बनाउनुपर्ने बताए ।

उहाँले भन्नुभयो,‘सरकारले आगामी आर्थिक वर्षको बजेट एउटा सिङ्गल भिजन नभएर धेरै भिजनलाई हेरेर आएको छ । कोसिस राम्रो छ । तर धेरै मिसमास भएको देखिन्छ । युवा उद्यमी र उद्यमको लागि राम्रो नै आएको छ । तर एक वर्षमा कार्यविधि बनाएर कार्यान्वयन गर्न सके मात्रै राम्रो हुन्छ ।’

त्यस्तै अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१÷०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरे पनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको बताए । उनले बजेटमा ९ वर्षदेखि बजेटमा व्यवस्था गरे पनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको जिकिर गरे ।

त्यस्तै युवा तथा महिला उद्यमी निकिता राजभण्डारीले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरू ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताइन् । उनले सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्न माग गरिन् । उद्यमी भण्डारीले महिलाहरूको लागि उद्यमशील बनाउनको लागि विभिन्न आरक्षण ल्याउनु आवश्यक रहेको बताइन् ।