Breaking News

हंस बहुउद्देश्यीय सहकारीको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भरतपुर-१, शहीदचोक, नारायणगढ, चितवनद्वारा आयोजित ‘आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी’ दुई दिनसम्म चलेर सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतामा २०८३ साल भाद्र ५ र ६ गते भरतपुर-२५, बयरघारी, शुक्रनगरस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टको सभाहलमा सम्पन्न उक्त गोष्ठीमा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विषयगत उपसमिति र व्यवस्थापन गरी जम्मा २२ जना सहभागी रहेका थिए।

गोष्ठीको सुरुवातमा संस्थाका उपाध्यक्ष श्री बाबुराम अधिकारीले सम्पूर्ण सहभागीलाई हार्दिक स्वागत गर्नुभयो। स्वागत मन्तव्यमा उहाँले आगामी आर्थिक वर्षको नीति र बजेट संस्थाका सदस्यको हित, वित्तीय अनुशासन र नियामक निकायको निर्देशनको परिधिभित्र रहेर तर्जुमा गरिने बताउनुभयो। साथै उहाँले सहकारी क्षेत्रप्रति सर्वसाधारणको विश्वास कायम राख्न पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।

गोष्ठीको मुख्य कार्यपत्रका रूपमा संस्थाका प्रबन्धक श्री नारायण प्रसाद सापकोटाले दुवै दिनका सत्रमा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटको मस्यौदा विस्तृत रूपमा प्रस्तुत गर्नुभयो। पहिलो दिनको सत्रमा नीति तथा कार्यक्रमको मस्यौदा, नियामक निकायबाट प्राप्त पछिल्ला निर्देशनहरूको पालना अवस्था, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था तथा संस्थाको विनियम र आन्तरिक कार्यविधिहरूको समयसापेक्ष संशोधनका विषयमा प्रस्तुति भएको थियो भने दोस्रो दिनको सत्रमा आम्दानी–खर्चको विस्तृत अनुमान, सेवाकेन्द्रगत विश्लेषण, कर्मचारी उत्पादकत्व, कर्जा असुली तथा जोखिम व्यवस्थापन र जीतपुर सेवाकेन्द्रको कृषि व्यवसाय सञ्चालनसम्बन्धी योजनामाथि प्रस्तुति र छलफल गरिएको थियो।

प्रस्तुतिका क्रममा प्रबन्धक सापकोटाले प्रस्तावित नीति, कार्यक्रम र बजेटका हरेक बुँदा नियामक निकायको निर्देशन र संस्थाको यथार्थ वित्तीय अवस्थासँग मिल्ने गरी तयार पारिएको जानकारी गराउनुभयो। उहाँले आगामी वर्ष सेवाकेन्द्रगत रूपमा नतिजा मापन गर्ने, कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने र सेवालाई थप छिटो, सहज तथा प्रविधिमैत्री बनाउने गरी कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो।

प्रस्तुतिपश्चात् सहभागीहरूबीच खुला छलफल भई नीति, कार्यक्रम तथा बजेटलाई थप परिष्कृत बनाउन विभिन्न सुझाव प्राप्त भएका थिए। गोष्ठीमा ‘आकार होइन गुणस्तर — सुदृढीकरण, असुली र विश्वासको वर्ष’ भन्ने नारालाई आगामी आर्थिक वर्षको मार्गदर्शक सिद्धान्तका रूपमा अगाडि सारिएको छ।

गोष्ठीमा बोल्दै संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेले सहकारी क्षेत्र आज परीक्षाको घडीबाट गुज्रिरहेको र यस्तो अवस्थामा हाम्रो ध्यान संस्थालाई ठूलो बनाउनेतर्फ होइन, बलियो र भरपर्दो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। साथै उहाँले सदस्यको बचतको सुरक्षा नै संस्थाको पहिलो र अन्तिम दायित्व भएको बताउँदै आगामी आर्थिक वर्षलाई सुदृढीकरण, कर्जा असुली र विश्वास पुनःस्थापनाको वर्षका रूपमा अघि बढाउने र नियामक निकायका निर्देशनहरूको पूर्ण पालना गर्दै तोकिएकै समयमा विधिसम्मत रूपमा निर्वाचन सम्पन्न गरी संस्थालाई सुशासनको बलियो जगमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लेखा तथा सुपरिवेक्षण समितिका कार्यवाहक संयोजक श्री कृष्णहरि तिमल्सेनाले बजेट भनेको केवल अंकको तालिका नभई वर्षभरिको वित्तीय अनुशासनको प्रतिबद्धतापत्र भएको बताउनुभयो। उहाँले यस पटकको मस्यौदा तयार गर्दा आम्दानीलाई महत्त्वाकांक्षी होइन यथार्थपरक राख्ने र खर्चलाई मितव्ययी बनाउने प्रयास भएको सकारात्मक रहेको उल्लेख गर्दै आन्तरिक नियन्त्रण प्रणाली, कर्जा वर्गीकरण, जोखिम व्यवस्था र नियमित सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउँदै लगिने र स्वीकृत बजेटभन्दा बाहिर गएर खर्च नहुने गरी समिति सजग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी संस्थाका कोषाध्यक्ष श्री प्रमोद कुमार श्रेष्ठले संस्थाको तरलता र वित्तीय अवस्था सुरक्षित रहेको जानकारी गराउँदै आगामी वर्ष खर्चमा मितव्ययिता र आम्दानीमा यथार्थपरकता कायम गरिने बताउनुभयो। उहाँले सदस्यको प्रत्येक रुपैयाँको हिसाब पारदर्शी राख्दै संस्थालाई थप बलियो पुँजी आधारमा लैजाने प्रयास गरिने बताउनुभयो।

कार्यवाहक सचिव प्रा.डा. होमनाथ सापकोटाले यो गोष्ठी संस्थाको नीति निर्माण प्रक्रियालाई सहभागितामूलक बनाउने अभ्यास भएको बताउनुभयो। उहाँले गोष्ठीबाट प्राप्त सुझावहरू समेटी नीति, कार्यक्रम तथा बजेटको मस्यौदालाई परिमार्जन गरी आगामी २३ औँ वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिने र संस्थाको विनियम तथा आन्तरिक कार्यविधिहरूको समयसापेक्ष संशोधन, सदस्य शिक्षाको निरन्तरता र सुशासनका मान्य सिद्धान्तको पालनालाई प्राथमिकतामा राखिने बताउनुभयो।

गोष्ठीको समापन सत्रमा अध्यक्ष श्री दिनेश कुमार चुकेले दुई दिनसम्म सक्रिय सहभागिता जनाउनुहुने सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विषयगत उपसमितिका पदाधिकारी तथा सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्थाका आदरणीय सेयर सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो।