युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा हुँदैनः रवि
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति हुनु ऐतिहासिक भए पनि नेतृत्वमा पुग्दैमा सपना पूरा भइनहाल्ने बताएका छन्। बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा नहुने र त्यसपछिको जिम्मेवारी अझ गहन हुने बताए।
कार्यक्रममा विश्वका विभिन्न देशमा ३५-३६ वर्षकै उमेरमा युवाहरूले मुलुकको नेतृत्व सम्हालेको दृष्टान्त दिँदै लामिछानेले नेपालको संसद्मा पनि उल्लेख्य सङ्ख्यामा युवाहरूको प्रतिनिधित्व हुनु बिरलै प्राप्त हुने अवसर भएको बताए।
‘कुनै पनि देशको पार्लियामेन्टमा यति धेरै सङ्ख्यामा युवाहरू हुनु भनेको एउटा ठूलो ऐतिहासिक राजनीतिक घटनाक्रम हो। आज हामी त्यसको अभ्यास गर्न सुरुवात गरेका छौँ,’ उनले भने। उनले उमेरकै कारण अनुभवी पुस्तालाई आवश्यक सम्मान दिन नसकिएको हो कि भन्ने आत्मसमीक्षासमेत गरे। अब अरूलाई दोष देखाएर उम्किने छुट युवा पुस्तालाई नरहेको बताउँदै उनले भने, ‘हिजो अलिकति सजिलो थियो, पाकाहरूले देश चलाए, युवाहरू नै आएनन् भनेर दोष लगाइन्थ्यो। तर अब कसलाई दोष लाउने रु अब अपमानित वा अवहेलित गर्न पाइँदैन।’
युवाहरूले नेतृत्व पाउँदैमा स्वतः सपना पूरा नहुने तर्क गर्दै सभापति लामिछानेले अब जिम्मेवारीपूर्वक काम गरेर देखाउने बेला आएको सुनाए। ‘युवाको नेतृत्व आउने बित्तिकै सपना पूरा भइहाल्ने होइन, त्यसपछाडि गर्नुपर्ने कामहरू र जिम्मेवारीहरू धेरै हुन्छन्,’ उनले भने।





