वर्षा सुरु हुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
खोटाङ/बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यावसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् ।
विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको वर्षौदेखिको मुख्य व्यापारिक केन्द्र धाप्लाङघाटमा किनमेल तथा आवतजावत गर्नेको दैनिक भीड लाग्ने गर्छ ।
खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा १८ घर स्थानीय वर्षौंदेखि बसोबास गर्दै आएका छन् । नौ घर मगर, चार घर दाहाल खत्री, दुई घर श्रेष्ठ तथा माझी, परियार र तामाङको एक÷एकवटा घर छन् । हरेक घरमा पसल तथा होटल सञ्चालनमा छन् ।
वर्षौंदेखि स्थानीयको बसोबास रहेको धाप्लाङघाटको दायाँ र बायाँको जमिन वर्षाद्को समयमा सुनकोशी नदीमा आउने बाढीले निरन्तर कटान गरिरहेको छ । छिमेकी जिल्ला उदयपुरको गाईघाट बजार नजिक पर्ने धाप्लाङघाटको तल्लो क्षेत्रमा अहिले पनि निरन्तर पहिरो झरिरहेको देख्न सकिन्छ ।
विसं २०८१ असोज १२ गते आएको भीषण बाढीले सबैभन्दा बढी कटान गरेको स्थानीय गणेशबहादुर मगरले जानकारी दिनुभएको छ । “तीन वर्षअघिसम्म हामीलाई कुनै चिन्ता थिएन । विसं २०८१ असोज–१२ गते आएको भीषण बाढीले कटान सुरु गरेपछि अहिले निरन्तर पहिरो झरिरहन्छ”, उहाँले भन्नुभयो, “बाढीले करिब ३० मिटर जमिन कटान गरिसकेको छ । ठूलो बाढी आउन थाल्यो कि सबै घरका मानिस एक ठाउँमा भेला भएर बस्ने गरेका छौँ ।”
बलौटे माटो रहेको धाप्लाङघाटमा नदीको कटानका कारण करिब २५ मिटर अग्लो भीर बनेको छ । हिउँद\वर्षा जुनसुकै समयमा पनि सानोतिनो पहिरो झरिरहने भएका कारण सुनकोशीको नजिक जान नसकिने अवस्था रहेको स्थानीयले बताएका छन् ।
धाप्लाङघाटको बस्ती जोगाउन यस वर्ष सङ्घीय सरकारबाट रु एक करोड ७६ लाख बजेट प्राप्त भएको गाउँपालिका प्रमुख शालिकराम बन्जाराले जानकारी दिनुभएको छ । “धाप्लाङघाटको बस्ती जोगाउन गाउँपालिकाका बजेटले सम्भव छैन । पटकपटकको मागपछि यस पटक रु एक करोड ७६ लाख बजेट प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यो योजना बहुवर्षे योजनामा परेको छ । यस आर्थिक वर्षका लागि प्राप्त बजेटमा चाँडै ठेक्का आह्वान गरेर तटबन्ध निर्माणको काम सुरु गर्ने तयारीमा र्छौँ ।”
सुनकोशीमा आउने बाढीले निरन्तर कटान गरिरहेको जमिन संरक्षणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएपछि संरक्षण हुनेमा स्थानीयसमेत आशावादी बनेका छन् । बस्ती नै जोखिममा पर्नेगरी आउने बाढी रोक्नका लागि नदी किनारमा मेसिनरी वाल ९सिमेन्टसहितको पर्खाल० लगाउनुपर्ने उनीहरुको माग छ ।
खोटाङ र उदयपुरका स्थानीयको प्रमुख व्यापारिक केन्द्र धाप्लाङघाटमा मोटरेबल पक्की पुलसमेत निर्माणाधीन अवस्थामा छ । करिब दश वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको मोटरेबल पक्की पुलको कामले पछिल्लो समय गति लिएको छ ।
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल विसं २०७३ असार ३० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७४ भदौ ३१ गते शिलान्यास गर्नुभएको मोटरेबल पक्की पुलका लागि यस वर्षबाट बल्ल स्ल्याब ढलानको काम सुरु गरिएको छ ।
विसं २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी निर्माण सुरु गरिएको धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि निर्माण कम्पनीमा आबद्ध ठेकेदारको लापारबाहीका कारण लामो समयसम्म अलपत्र परेको थियो । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख बजेटमा निर्माण सुरु गरिएको मोटरेबल पुलको ठेक्का स्वच्छन्द–रसुवा–पप्पु जेभीले लिएको हो ।
पछिल्लोपटक थप गरिएको म्यादअनुसार विसं २०८४ जेठ–१९ गतेसम्ममा धाप्लाङघाट पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि छवटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौंअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर, सुनकोशीमा पक्की पुल नहुँदा ठूलो सवारी साधन वारपार गर्ने अवस्था छैन । मोटरसाइकल भने, झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको स्थानीयवासीले बताएका छन् ।
धाप्लाङघाटमा मोटरेबल पक्की पुल नहुँदा पालिकावासीले बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादनलाई निर्यात गर्न कठिन भएको गाउँपालिकाका उपप्रमुख भूबलराज राईले बताउनुभएको छ । “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ । पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ”, उहाँले भन्नुभयो, “पछिल्लोपटक थपिएको समयमा पुल सम्पन्न गराउन निरन्तर खबरदारी आवश्यक छ । सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको कामले गति लिएसँगै खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ । यद्यपि, वर्षाद्को समयमा नदीमा आउने बाढी तथा कामदार अभावका कारण निर्माणाधीन मोटरेबल पुलको बाँकी काम ठेकेदार कम्पनीले अगाडि बढाउने सम्भावना छैन ।रासस





