घरदैलोमा रेनुप्रति देखिएको उत्साह

लगातार दुईपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर भएकी रेनु दाहाल यसपटक प्रतिनिधिसभामा उम्मेदवार छिन् । दुईपटक मेयर हुँदा गरेको कामले चर्चा बटुलेकी रेनु नेकपाबाट उठेको क्षेत्र प्रतिस्पर्धी उम्मेदवार सोविता गौतमको कारण थप चर्चामा आएको छ । सोविता २०७९ मा काठमाडौं २ मा रास्वपाबाट जितेकी थिइन् । यसपटक रेनुसँग भिड्न चितवन ३ झरेकी छिन् । जसले दुई महिला उम्मेदवारको प्रतिस्पर्धालाई रोचक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धी सोविता कानुन पढेकी भएकोले उनले नीति निर्माणमा बढी जोड दिएर चुनावी प्रचार गरिरहेकी छिन् । लगातार दुईपटक मेयर भएकी रेनुको मुद्दा कानुन निर्माणमा मात्रै छैन । सांसदको काम नीति निर्माणमा मात्रै केन्द्रित हुन नहुने उनको मत छ । चुनावी घरदैलोको क्रममा चितवन वडा नम्बर २३ जगतपुर घैलाघारीमा भेटिएकी रेनुले शिलापत्रसँग आफूलाई कानुन निर्माणसँगै जनताको कामको भोक अझै रहेको बताइन् ।

‘संसदले नीति निर्माणको भूमिका खेल्ने मात्रै होइन । नीति र कानुन बनाएर मात्रै सुख पाइँदो रहेनछ । विकास र समृद्धिको लागि भूमिका खेल्दिनँ भनेर हुने रहेनछ,’ संविधानसभा सदस्य भइसकेकी रेनुले भनिन्, ‘सत्तापक्ष भए पनि नभए विपक्षमा बसेर पनि नीति निर्माणसँगै जनताको विकासको सपना पूरा गर्ने उद्देश्य छ । जनतालाई सुखदुःखमा साथ दिनुपर्छ । कानुन भन्दा उनीहरूको चाहना बाटोघाटो, कुलो कल्भर्ट, खानेपानी, मल बिउ, भूमिहीनलाई पुर्जाको माग हुने रहेछ । मेरा मुद्दा यिनै हुन् ।’

भरतपुरमा लगातार दुईपटक मेयर हुँदा विकासका कामको अनुभवले आफू उत्साही भएको रेनु बताउँछिन् । ‘जनताको लागि केही गर्दिनँ, कानुन र नीति निर्माणमात्रै गर्छु भन्नेलाई जनताले भोट दिँदैनन्,’ भरतपुरमा गएको ८ वर्षमा भएको विकासबारे रेनुले भनिन्, ‘घरदैलो क्रममा मतदाताले व्यक्त गरेका चाहना विकास र निर्माणसँगै जोडिएका छन् ।’

भरतपुर २३ मा रेनुको घरदैलो क्रममा भेटिएका मतदाता कमल पुडासैनी पूर्वाधार विकासमा रेनुको कार्यकालका काम हिसाब गरी साध्य नभएको बताउँछन् । ‘रेनु मेयर भएपछि गरेको विकासले उहाँलाई भरतपुरवासीले जिताएका हुन् । पहिलोपटक मेयर हुँदा गरेको कामले गर्दा दोस्रोपटक भारी मत दिएर जिताए । काम हेरेरै जनताले रुचाएका हुन् । उहाँले गरेका विकासका काम अन्काउन्टेबल छ भन्दा फरक पर्दैन,’ पुडासैनीले भने, ‘सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानी ग्रासरुट लेभलको जसरी दिनुपर्ने हो त्यो दिनुभएको छ । मल, किसानको लागि डेरीमा चार रुपैयाँ थपेर दिइयो । कृषि, भौतिक पूर्वाधार, पयर्टन जस्ता क्षेत्रमा पनि उहाँले मान्छेले बुझ्नेगरी देख्नेगरी काम गर्नुभएको छ ।’

रेनुको घरदैलोमा भेटिएका मानकुमार थिङले रेनु मेयर भएपछि भरतपुरका मुख्य शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा विकास बढेको बताए । ‘सबै दलका नेता भोट माग्न आएका छन् । माहाैल आ–आफ्नो भएको दाबी सबैको छ । घण्टी घण्टी भन्ने पनि छन् । तर मेयर हुनुभएपछि रेनुले गरेको कामलाई धेरैले रुचाएका छन्,’ उनले भने, ‘भरतपुर पहिलेभन्दा राम्रो छ । सिँचाइ राम्रो भएको छ । बाटो पनि राम्रो बनेको छ । यहाँ लालपुर्जाको समस्या छ । स्थानीय धेरैको समस्या यसैमा छ । रेनुले यो लालपुर्जाको समस्या पनि समाधान गर्छु भन्नुभएको छ ।’

घरदैलो क्रममा रेनुले घरघरमै जनताले खोजेका अपेक्षा पूरा गर्ने बताएकी थिइन् । सोही स्थानमा राप्रपालाई भोट दिँदै आएकी कान्छीमाया तामाङले पछिल्लोपटक रेनुलाई भोट दिएकी बताइन् । ‘हामी खुँखार राप्रपा हो । यो भन्दा तीन वर्ष अगाडि राप्रपा नआउला जस्तो भएर रेनुलाई भोट दिएका हौँ । उहाँलाई दिएको भोट खेर गएन । उहाँले राम्रो काम गर्नुभयो । अझै राम्रो गर्नुहुन्छ भन्ने आशा गरेका छौँ,’ यसपटक पनि रेनुलाई मत दिने संकेत गर्दै उनले भनिन्, ‘उहाँ आज हाम्रो बस्तीमा आउँदा नजिकबाट हेर्ने र देख्ने अवसर पायौँ । ठूलो नेता प्रचण्डकी छोरी भए पनि उहाँ हामीजत्तिकै सरल हुनुहुँदोरहेछ । यसअघि सांसद भएकोले केही गरेनन् । रेनुलाई जिताउँदा भरतपुरमा गरेजस्तै विकास गर्नुहुन्छ कि भने आशा हाम्रो छ ।’

केरुंगाकी धनमाया प्रजा आफूहरूको जग्गाको धनीपुर्जा भए पनि धेरैले पुर्जाको समस्या भोगेको बताइन् । ‘पानी र सिँचाइको अभाव थियो । पछिल्लो वर्षबाट केही व्यवस्था भएको छ । यो सिंगो गाउँमा हाम्रो लालपुर्जा छ । तर एक सयमा २५ जतिको मात्रै छ,’ उनले भनिन्, ‘घरको मात्रै होइन, जग्गाको पनि पुर्जा छैन । अहिले पैसा तिरेर पनि पुर्जा नपाइने अवस्था भएको छ ।’

वडा २३ नयाँ बस्तीका शम्भु प्रजा जिल्लाकै बासिन्दा र मेयर भइसकेकोले रेनुप्रति धेरैले आशा गरेको बताए । ‘मेयर भइसक्नुभएकी रेनु यही चितवनको बासिन्दा हो । अरु कताका आउँछन् जान्छन् उनीहरूप्रति हामीलाई विश्वास छैन । तर यही ठाउँको भएकोले रेनुप्रति हाम्रो भरोसा छ,’ प्रजाले भने, ‘लालपुर्जा वितरण गर्ने, सुख्खा भूमिलाई खेतीयोग्य बनाउँछु भनेर आश्वासन दिनुभएको छ । उहाँले गर्छु भनेर पनि मत मागिरहनुभएको छ । यसपटक उहाँमाथि हाम्रो विश्वास छ ।’

केरुंगा विकास टोलका जितबहादुर गोगंवा सबै दलका भोट माग्न आए पनि यसपटक रेनुलाई समर्थन रहेको बताउँछन् । ‘सोविता गौतम, कुलमान घिसिङदेखि कांग्रेसका नेतासम्म भोट माग्न आउनुभएको छ । यसपटक पहिलो जस्तो मान्छे भ्रममा पर्छन् जस्तो लाग्दैन । सही र गलत छुट्टयाउन मतदाता खप्पिस छन्,’ उनले भने, ‘ रेनुलाई हाम्रो पूर्ण समर्थन छ भन्ने यो टोल आसपासका वडामा धेरै छन् । नारायणी तीरमा त्यस्तो राम्रो काम गर्नुभयो । बर्खामा पानी चुहिने झुप्रोमा बस्ने एक जना भाइलाई ५/६ खर्चेर घर बनाइदिनुभयो । यसपछि त झन् मान्छे नेताले काम गर्दा पनि रहेछन् भनेर खुसी भएका छन् ।’

आफूहरूले रेनुबाट थप कामको अपेक्षा गरेको उनी बताउँछन् । घरदैलोका क्रममा रेनुले राप्रपा समर्थित गाउँलाई नै नेकपामा प्रवेश गराएकी थिइन् । यसअघि राप्रपाका विक्रम पाण्डे उठेर यही क्षेत्रबाट जितेका थिए । तर यसपटक राप्रपाले प्रभावशाली उम्मेदवार खडा गरेन । यसैले राप्रपाको भोट तान्न रास्वपा र माओवादीबीच यो क्षेत्रमा प्रतिस्पर्धा देखिएको छ ।
भरतपुर २३ जगतपुर घैलाघारीमा भेटिएकी लक्ष्मी क्षेत्री पछिल्ला तीनचार वर्षयता आफूहरूले खानेपानी र सिँचाइको लागि हैरानी बेहोर्न नपरेको बताइन् ।

‘३ वर्षजति भयो हामीले खानेपानी र सिँचाइको लागि हैरानै बेहोर्नुपरेको छैन । मेयरमा रेनु दाहाल आएपछि हामीले यी सुविधा पाएका छौँ,’ खेतमा घाँस काटिरहेकी क्षेत्रीले भनिन्, ‘सडक बन्ने विद्यालय व्यवस्थित हुने क्रम पनि बढ्दो छ । त्यसैले यसपटक पनि हाम्रो परिवारकै भोट रेनुलाई दिने तयारी छ ।’

उनीसँग रहेकी रेश्मा क्षेत्रीले पनि आफूहरू यस अघि हँसिया हथौडामा भोट हालेकोले यसपटक ताराबाहेक अन्यत्र भोट नहाल्ने बताइन् । चितवन ३ मा माडी नगरपालिका पर्छ । त्यस्तै भरतपुर महानगरपालिकाको ६,८,९, १३,१४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ वडा नम्बर वडा पर्छन् । कांग्रेस, माओवादी र नेकपा एसको समर्थनमा रेनु मेयरमा निर्वाचित भएका थिइन् ।

चितवन ३ मा २०७९ मा राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । कांग्रेस समर्थनमा उठेका माओवादीका भोजराज अधिकारीले २५ हजार ८२४ मत ल्याएका थिए । रास्वपाका जिता बरालले १४ हजार ८४३ मत ल्याएकी थिइन् । स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याएका थिए ।

२१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट रेनु दाहाल, कांग्रेसबाट टेकप्रसाद