इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा

काठमाडौं/इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्यधिक निर्भरता नेपालका लागि मुख्य जोखिम बनेको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५–३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । झण्डै १५ लाख नेपाली कतार, साउदी अरेबिया, यूएई र कुवेतलगायत खाडी देशमा कार्यरत छन् । हाल ति दुई देश बिचको युद्ध ती देशहरूमा फैलिएको अवस्था छ । त्यसकारण, मासिक करिब २०० अर्ब रुपैयाँभन्दा बढीको रेमिट्यान्स प्रवाहमा अचानक अवरोध आउन सक्ने जोखिम देखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव एवं व्यापारविज्ञ रविशंकर सैँजुले बताए ।

परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार खाडीका दश देशमा रहेका करीब १७ लाखभन्दा धेरै नेपाली श्रमिक जोखिममा छन् । मन्त्रालयका अनुसार युएईमा सबैभन्दा धेरै ७ लाख नेपाली श्रमिक छन् । साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ जना श्रमिक छन् । यस्तै, यजरायलमा ६५००, बहराइमा २८ हजार, ओमनमा २५ हजार, कुबेतमा १ लाख ७५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार र इरानमा ६ जना श्रमिक रहेका छन् ।

युद्ध चर्किदै गएमा खाडीमा रहेका नेपाली श्रमिकहरुलाई जतिबेला पनि नेपाल ल्याउनुपर्ने अवस्था छ । जसले आन्तरिक बेरोजगारी बढाउने र सामाजिक–आर्थिक दबाब सिर्जना गर्ने सम्भावना रहेको सैँजुले बताए ।

इन्धन मूल्य र व्यापार घाटामा दबाब

नेपालको व्यापार घाटामा पेट्रोलियम पदार्थ सबैभन्दा ठूलो कारक हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर नाघेमा आयात बिल दोब्बर हुन सक्ने अनुमान गरिएको सैँजुले बताए । यसले व्यापार घाटा धान्नै नसक्ने अवस्थामा पुर्‍याउन सक्ने उनको दाबी छ ।

नेपालले सबै इन्धन इन्डीयन आयल कर्पोरेशन बाट खरिद गर्ने भएकाले भारतको आपूर्ति शृङ्खलामा कुनै अवरोध वा मूल्यवृद्धि भए त्यसको असर नेपालका पेट्रोल पम्पमा तत्काल देखिने उनले जानकारी दिए ।

यससँगै, आईतबार साँझ देखिनै काठमाडौंका विभिन्न पेट्रोल पम्पहरुमा गाडिमा तेल भर्ने उपभोक्ताहरुको लामो लाइन सुरु भएको देखिएको छ । कतिपय पेट्रोल पम्पहरुले भने तेल नभएको सुचना समेत टाँस्न थालिसकेका छन् ।

नेपाल आयल निगमले भने मध्येपूर्वको तनाबका कारण तत्काल पेट्रोलियम पदार्थको आपुर्ति र मूल्यमा कुनैपनि अबरोध नआएको दाबी गरेको छ । यद्यपी, युद्ध लम्बीँदै गएमा भने अवस्था फेरिन सक्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुले जानकारी दिए । उनका अनुसार हाल निगमसँग १ लाख २ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ । यसले करीब १३ दिन सम्म नेपालको माग धान्न सक्छ । तर, यतिबेला निगमसँग कुल भण्डारण क्षमताको करीब ८० प्रतिशत मात्रै भण्डारण रहेको उनले बताए । यसले करीब १० दिन मात्रै नेपालको इन्धनको माग धान्न सक्ने उनको भनाई छ ।

यसैबिच, एशियन बजारमा सोमबार बिहानै देखि कच्चा तेलको मूल्य उकालो लागि सकेको छ । सोमारबा बिहन बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य लगभग ९ प्रतशित बढेर ७९.३० डलर प्रति ब्यारेल आसपास थियो । यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिका साथ ७२.७० डलर प्रति ब्यारेलको आसपास थियो । तर, यो मूल्य केही समय पश्चात थोरै मात्रामा घटेको पाइएको छ ।

ढुवानी लागत, महँगी र खाद्य सुरक्षामा असर

आयातमुखी अर्थतन्त्र भएकाले इन्धन महँगिँदा यातायात लागत बढ्छ र त्यसको प्रभाव तराईबाट काठमाडौंसम्म ढुवानी हुने तरकारी तथा खाद्यान्नमा प्रत्यक्ष पर्छ । ‘आयातित मुद्रास्फीति’ बढेर राष्ट्रिय महँगी दर दोहोरो अंक (१० प्रतिशतभन्दा माथि) पुग्ने जोखिम रहेको सैँजुले बताए ।

उनका अनुसार नेपाल भूपरिवेष्ठित देश भएकाले निर्यात पूर्ण रूपमा इन्धन र ढुवानीमा निर्भर छ । कच्चा तेल महँगिँदा ट्रक भाडा र समग्र ढुवानी लागत बढ्नेछ । अमेरिका र युरोपतर्फ जाने गलैंचा र हस्तकला सामग्री प्रायः रेडसी मार्ग हुँदै जाने भएकाले युद्धका कारण समुद्री मार्ग असुरक्षित भए जहाजले घुमाउरो बाटो अपनाउनुपर्ने र ‘शिपिङ चार्ज’ ३०–४० प्रतिशतसम्म बढ्न सक्ने अनुमान छ ।

विदेशी मुद्रा सञ्चितिः अस्थायी राहत

२०२६ को सुरुवातसम्म नेपालसँग करिब २२ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ, जसले करिब १८ महिनाको आयात धान्न सक्छ । तर रेमिट्यान्स घट्ने र तेल मूल्य उच्च रहने अवस्था लम्बिए सञ्चिति तीव्र रूपमा घट्न सक्ने विज्ञहरुले आंकलन गरेका छन् । युद्ध एक वर्षभन्दा बढी लम्बिए ‘श्रीलंका शैलीको’ मुद्रा संकटको जोखिमसमेत देखिएको बताइएको छ ।

खाने तेल निर्यातमा संकट

नेपालको कुल निर्यातमा सोयाबिन र पाम आयलको हिस्सा करिब ४० प्रतिशत छ । कच्चा पदार्थ अर्जेन्टिना वा ब्राजिलबाट आयात गरी प्रशोधन गरेर भारत पठाइन्छ । खाडी क्षेत्र अस्थिर हुँदा कच्चा पदार्थ ढुवानी ढिलो वा अवरुद्ध हुन सक्छ, जसले तेल उद्योगमा गम्भीर असर पुर्‍याउन सक्छ । यस्तै, नेपालको गलैंचा र तयारी पोसाकको युरोप–अमेरिकामा माग घट्न सक्ने र ढुवानी लागत बढ्दा प्रतिस्पर्धा कमजोर हुन सक्ने आंकलन गरिएको छ भने नेपालबाट निर्यात हुने मुख्यबस्तुहरु चिया, अलैंची र पश्मिनाको व्यवसाय प्रभावित हुने बताइएको छ ।

सुन–चाँदीको मूल्यमा उछाल आउने संकेत

विशेषगरी इरान–इजरायल युद्धका कारण मध्यपूर्व क्षेत्रमा अस्थिरता बढेपछि अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उछाल आउने संकेत देखिएको छ । कमोडिटी बजार विश्लेषकहरूका अनुसार युद्ध लम्बिँदै गएमा लगानीकर्ताहरूले इक्विटी तथा जोखिमयुक्त सम्पत्तिबाट पैसा निकालेर सुन–चाँदीमा लगानी बढाउने सम्भावना उच्च छ ।

यस युद्धमा अमेरिका पनि प्रत्यक्ष रूपमा युद्धमा संलग्न रहेका कारण अमेरिकी डलरमा दबाब पर्न सक्ने र त्यसको असरस्वरूप सुनको माग अझ तीव्र हुन सक्ने अनुमान गरिएको छ । ऐतिहासिक रूपमा पनि भूराजनीतिक संकटका बेला सुनलाई ‘सेफ हेभन’ सम्पत्तिका रूपमा लिने गरिएको छ ।

चाँदीको हकमा भने यसको औद्योगिक प्रयोग (विशेषगरी विद्युतीय उपकरण र सौर्य ऊर्जामा) तथा लगानी माग दुवै बढ्न सक्ने देखिन्छ । यसले चाँदीको मूल्यलाई दोहोरो आधारबाट समर्थन गर्न सक्छ । विज्ञहरूका अनुसार आगामी दिनहरूमा सुन–चाँदी दुवै लगानीकर्ताका लागि आकर्षक प्रतिफल दिने माध्यम बन्न सक्ने सम्भावना बलियो रहेको छ, यद्यपि मूल्य अस्थिरता उच्च रहन सक्छ । एजेन्सी