चितवन उद्योग वाणिज्य संघद्वारा इच्छाकामनाका व्यवसायीलाई कर सम्बन्धी तालिम
भरतपुर/चितवनका उद्योगी–व्यवसायीहरूको छाता संस्था चितवन उद्योग वाणिज्य संघले इच्छाकामना गाउँपालिकाका व्यवसायीहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ ।
उद्योगी तथा व्यवसायीहरूलाई आयकर, मूल्य अभिवृद्धि कर, मिसम्याच तथा करसम्बन्धी नीति–नियमबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना तथा एनएससीसीएमको प्राविधिक सहयोगमा इच्छाकामना गाउँपालिका–स्थित सिद्धार्थ रिसोर्टको सभाहलमा सम्पन्न भएको हो ।
तालिम उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति तथा नियमबारे स्पष्ट जानकारी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सहभागीहरूलाई सक्रिय रूपमा सहभागिता जनाई तालिमबाट लाभ लिन तथा जिज्ञासा निर्धक्कसँग प्रशिक्षकहरूसँग राख्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले तालिम सफलताको शुभकामना दिँदै निजी क्षेत्रका व्यवसायीहरूलाई समयमा कर तिर्न अनुरोध गर्नुभयो । उहाँले देश विकासको मेरुदण्ड नै कर भएको उल्लेख गर्दै करसम्बन्धी जानकारीको अभावले जरिवाना तिर्नुपर्ने अवस्था आउन नदिन सबै व्यवसायी सचेत हुनुपर्नेमा जोड दिनुभयो । साथै, इच्छाकामनामा लगानी गर्न चितवन उद्योग वाणिज्य संघलाई आग्रह गर्दै लगानीको सुरक्षा गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
विशिष्ट अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले करसम्बन्धी नीति–नियमको जानकारी नहुँदा व्यवसायीहरू दण्ड–जरिवानामा पर्ने अवस्था सिर्जना हुने उल्लेख गर्नुभयो। उहाँले तालिममा व्यवहारिक समस्या र बजारमा देखिएका चुनौतीलाई केन्द्रमा राखेर प्रशिक्षण दिन प्रशिक्षकहरूलाई सुझाव दिँदै कार्यक्रम सफलताको कामना गर्नुभयो ।
दुई दिनसम्म चलेको तालिममा सिए बिमन कार्की र सिए विशाल भट्टराईले प्रशिक्षण दिनुभएको थियो। तालिममा इच्छाकामना क्षेत्रका ८० जना उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।
सोही अवसरमा इच्छाकामना उद्योग वाणिज्य संघले चितवन उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको थियो । बधाई कार्यक्रमलाई सम्बोधन गर्दै इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कुमार श्रेष्ठले आगामी दिनमा पनि स्थानीय व्यवसायीहरूका लागि यस्ता आवश्यक तालिम निरन्तर प्रदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरू दयाराम नारायण प्रधान र जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी.लगायत कार्यसमिति सदस्यहरू तथा इच्छाकामना उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं उद्योगी–व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो ।


