चितवनमा तीन वर्षपछि भोलि नेपथ्यको कन्सर्ट, टिकट ‘सोल्ड आउट’
चितवन/बहुचर्चित नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति भोलि (मंगलबार) चितवनमा हुँदैछ । नेपथ्य चितवनमा तीन वर्षपछि गुञ्जिन लागेको हो । कन्सर्टको सबै तयारी पूरा भइसकेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए । ‘कन्सर्टको सबै तयारी पूरा भइसकेको छ, टिकट पनि सोल्डआउट भइसक्यो, समयमै उपस्थित भइदिनु हुन अनुरोध छ’–थापाले भने ।
कन्सर्टमा सहभागि हुन दिउँसो ४ः१५ बजे प्रवेश खुला गरिने छ । सांगीतिक प्रस्तुती भने ६ बजेपछि सुरु हुनेछ । नेपथ्यको प्रस्तुती हेर्न जाने दर्शकले यसपटक भने फरकपनको अनुभूति गर्न पाउने छन् । ठूलो रंगशाला नभएको चितवनमा दर्शकहरुले यो पटक नेपथ्यको कन्सर्ट भने प्याराफिटमा बसेर हेर्न पाउने छन् । आयोजक नेपाल डायरिजले चितवनका दर्शकका लागि पहिलोपटक प्याराफिटको व्यवस्था गर्न लागेको हो ।
कन्सर्ट स्थलमा बफर जोन र इभेन्ट जोन गरी दुई वटा क्षेत्र निर्माण गरिएको छ । बफर जोनमा विभिन्न स्टलहरु रहने छन् भने इभेन्ट जोनमा खाद्य पदार्थ पूर्ण रुपमा निषेध गरिएको छ । कन्सर्टमा चितवनसहित छिमेकी जिल्लाहरु नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट ८ हजार दर्शक सहभागि हुने आयोजकले जनाएको छ । कन्सर्टको आधिकारिक मिडियामा नारायणी अनलाइन रहेको छ ।
सन् १८८० ताका स्थापित नेपथ्य नेपालकै सबै भन्दा लोकप्रिय व्याण्डको रुपमा परिचित छ । यो कार्यक्रमलाई सफल बनाउन विभिन्न ठाउँमा सांगीतिक क्याम्पेन समेत आयोजना गरिएको थियो ।


