चौथो गैँडाकोट महोत्सव ः आज अर्जुन सापकोटासहितको प्रस्तुती
गैँडाकोट/नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीको सँंस्कृतिक प्रस्तुती रहने छ ।
आजको कार्यक्रम सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्ने लम्सालले बताए । त्यसैगरी महोत्सव अन्तर्गत आजै भजन प्रतियोगितासमेत हुँदैछ । महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले भजन प्रतियोगितम विभिन्न क्षेत्रबाट १८ वटा टिम सहभागी भएका भन्दै आठ टिम अघिल्लो चरणमा प्रवेश गरेका जानकारी दिए ।
मौलाकालिका मन्दिरको प्रतीकलाई गेटको आकार दिइएको महोत्सवको मुख्य आकर्षणको रुपमा जलपरी र ओपेरा हाउस रहेको सापकोटाले जानकारी दिए । यसपटकको महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गरेको भन्दै सापकोटाले कृषिसँगै स्थानीय उत्पादन, व्यावसायिक स्टल, कृषि प्रदर्शनी, रेष्टुरेन्ट, बाल उद्यान रहेको बताए ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवमा मुस्ताबबाट ल्याइएको ।।।याक’समेत राखिएको बताए । याकमाथि चढेर फोटो, भिडियो बनाउन सकिने उनको भनाइ छ । माघ १० गतेसम्म सञ्चलन हुने महोत्सवमा करिब २५० स्टल रहेको भन्दै पाण्डेले महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
पाण्डेकाअनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रु पैयाँ टिकटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक तथा अपाब्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए ।महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।


